बारा,१७असोज : बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ३ मा सञ्चालित नेशनल पानी उद्योगमा स्थानीय प्रशासनले सिलबन्दी गरेको छ ।पानीको बोतलमा किरा भेटिएको गुनासो आएपछि अनुगमन गर्न पुगेको जिल्ला प्रशासन कार्यालय बाराको टोलीले नेशनल पानी उद्योगमा सिलबन्दी गरेको हो ।
बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यको नेतृत्वमा प्रहरीसहित उद्योगमा पुगको टोलीले उद्योग सिल गर्दै त्यहाँ मौज्दात रहेको पानी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
‘उपभोक्ताले माकुरा भएको पानीको बोतलसहित हामी कहाँ उजुरी गर्नुभयो । त्यही उजुरीको आधारमा अनुगमन गर्न पुग्दा उद्योग मापदण्ड अनुसार सञ्चालित नरहेको, सरसफाइ नगरेको र पानीको गुणस्तरमा समेत शंका लागेपछि प्रहरीको सहयोगमा सिलबन्दी गरेका हौँ,’ सहायक प्रजिअ आचार्यले भने, ‘परीक्षणका लागि पानीका बोतलहरू पनि नियन्त्रणमा लिएका छौँ ।’
उद्योगका सञ्चालक विजयकुमार यादवलाई समेत अनुगमन टोलीले नियन्त्रणमा लिएकोभएपनि उनलाई हाजिरी जमानतमा रिहा गरिएको आचार्यले बताए । नियन्त्रणमा लिएको पानीका बोतलहरू जिल्ला प्रहरी कार्यालय बारामा राखिएको उनले बताए ।

