वीरगन्ज,७असोज : वीरगन्ज महानगरपालिका वडा नम्बर २२ मनियारीस्थित खेतमा ठूलो परिमाणमा बेवारिसे अवस्थामा रहेको लागु औषध बरामद भएको छ ।
मनियारीस्थित देवेन्द्र यादवको खाली खेतमा ८ हजार ९१५ पिस लागु औषध बेवारिसे अवस्थामा बरामद भएको हो । दुई वटा बोरामा रहेको डाइजेपाम २ हजार ३३५ थान , नुर्फिन ३ हजार १६९ थान र फेनरागन ३ हजार ४११ थान गरी कूल ८ हजार ९१५ थान लागु औषध बरामद भएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।
शाहका अनुसार , स्थानीयले दिएको सूचना अनुसार वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरीक्षक धर्मजंग थिङको नेतृत्वमा खटिएको प्रहरी टोलीले यादवको खाली रहेको खेतमा पुगेर बेवारिसे अअवस्थामा रहेको उक्त लागु औषध बरामद गरेको हो ।
बरामद लागु औषधको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शाहले बताए ।