Madhes Khabar
अर्थतन्‍त्र

प्राधिकरणले भारतलाई २ महिनामै बेच्यो ५ अर्ब ४३ करोडको बिजुली

काठमाडौं,४असोज : चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो २ महिनामा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको बिजुली भारत निर्यात भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले साउनमा १ अर्ब ९४ करोड ८४ लाख र भदौमा ३ अर्ब ४८ करोड ४८ लाख रुपैयाँको बिजुली भारतीय बजारमा निर्यात गरेको छ । २ महिनामा ३ अर्ब ३९ करोड ५७ लाख भारतीय रुपैयाँको अर्थात ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको बिजुली निर्यात भएको हो ।

साउन र भदौमा भारत निर्यात गरिएको बिजुलीको प्रतियुनिट औसत बिक्री दर क्रमशः ८ रुपैयाँ १३ पैसा र १२ रुपैयाँ २७ पैसा छ । २ महिनाको समग्र औसत बिजुली बिक्री दर प्रतियुनिट १० रुपैयाँ ३७ पैसा छ ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको बिजुली भारत निर्यात गर्दै आएको छ । प्रााधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केही अघिदेखि मध्यकालीन विद्युत् सम्झौताबमोजिम झन्डै ११० मेगावाट बिजुली भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगम लि– एनभीभीएनलाई बिक्री गरिरहेको छ ।

भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट बिजुली निर्यातका लागि नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली निर्यातबाट नेपालको विदेशी मुद्रा सञ्चिति र २ देशबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको बताए । ‘देशभित्र उत्पादित बिजुली यहीँ खपत गर्न पूर्वाधार संरचनाको सुधार तथा सुदृढीकरण गरिरहेका छौँ, बिजुली नपुगेका ठाउँमा बिजुली पु¥याउनका लागि विद्युतीकरणको काम पनि चलिरहेको छ’, घिसिङले भने , ‘खपत गरी बचत भएको बिजुली निर्यात गर्न २ देशबीचका अन्तरदेशीय प्रसारण सञ्जाललाई थप विस्तार तथा पूर्णरूपमा प्रयोगमा ल्याउन पहल गरिरहेका छौँ ।’

Related posts

विदेशबाट फर्किएका युवालाई उद्यम गर्न सरकारले सहुलियतपूर्ण ऋण उपलब्ध गराउछ : मन्त्री रिजाल

MadhesKhabar

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण ।

MadhesKhabar

एआईजीमा सहकुल थापा सिफारिस !

MadhesKhabar

Leave a Comment