Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्ज-रक्सौल नाकाकाे दशगजामै एसएसबीले राख्याे चेकपोस्ट

वीरगन्ज,३असाेज: नेपाल भारत सीमाकाे दशगजा क्षेत्रमै भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अस्थायी चेकपोस्ट स्थापना गरेकाे छ ।वीरगन्ज – रक्सौलको दशगजा क्षेत्रमा पर्ने मितेरी पुलमै एसएसबीले चेक पोस्ट राखेको हाे।

नेपालको मुख्य प्रवेशद्वारका रूपमा समेत परिचित वीरगन्ज – रक्सौल नाकाको दशगजा क्षेत्रमा पर्ने मितेरी पुलमा एसएसबीले बुधबार बिहानदेखि चेक पोस्ट स्थापना गरेको हो ।

चेक पोस्टमा खटिएका एसएसबी जवानहरूले दुवै तर्फबाट आवतजावत गरिरहेका सवारीसाधनलाई चेकजाँच गरिरहेका छन् । यस नाकाबाट दिनहुँ हजराैंको सङ्ख्यामा मान्छेहरू पैदल तथा गाडीमा व्यावसायिक, धार्मिक र पारिवारिक कामले नेवाल-भारत आउजाउ गर्छन् ।

एसएसबीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनोजकुमार शर्माले चेक पोस्ट स्थापना गर्दा एसएसबीले अन्तर्राष्ट्रिय मापदण्ड पालना गरेको दाबी गरे । उनले चेक पोस्ट पनि भारतीय भूमिमै रहेको बताए । ‘चेक पोस्ट स्थापना गर्दा भारतले नेपालसँग भएका कुनै पनि सम्झौता अथवा सन्धिको उलङ्घन गरेको छैन,’ उनले भने, ‘दुवै देशको सुरक्षा, मानव तस्करी र चोरी पैठारी नियन्त्रण गर्ने उद्देश्यले चेक पोस्टको स्थापना भएको हो । यसको कुनै पनि राजनैतिक अथवा कूटनीतिक उद्देश्य छैन ।’

इन्स्पेक्टर शर्माले एसएसबीको केन्द्रीय सर्कुलर अनुसार रक्साैल-वीरगन्ज नाका हुँदै आवतजावत गर्ने तेस्रो मुलुकका नागरिकमाथि निगरानी बढाउनका लागिपनि पोस्ट स्थापना गरिएको जानकारी दिए ।


पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले भने मितेरी पुल नेपाल र भारत दुवै भएको बताउँदै स्थापित चेक पोस्ट भारतीय भूमि मै रहेको प्रस्ट पारे । उनले चाडपर्वलाई लक्षित गरेर एसएसबीले अस्थायी रूपमा चेक पोस्ट स्थापना गरेको बताए ।

लम्सालले पनि यस नाकाबाट आवतजावत गर्ने तेस्रो मुलुकका नागरिकमाथि निगरानी बढाउन पनि एसएसबीले पोस्ट स्थापना गरेको बताए ।

त्यस्तै सशस्त्र प्रहरी बल नम्बर १३ गण वीरगन्जका प्रमुख एवम् प्रहरी उपरीक्षक किशन कर्माचार्यले पनि सिडिओ लम्सालकै कुरालाई दोहोर्‍याए । उनले पनि चेक पोस्ट भारतीय भूमि मै रहेको बताए ।

यद्यपि भारतीय सुरक्षा एजेन्सीहरूले दशगजा क्षेत्रमा कुनै पनि किसिमको चेक पोस्ट स्थापना गर्न नपाउने विज्ञहरूले बताएका छन् । अन्तर्राष्ट्रिय सन्धिअनुसार विशेष परिस्थिति बाहेक अन्य समयमा चेकपोस्ट राख्न नपाइने उनीहरूको भनाई छ ।

Related posts

वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

MadhesKhabar

वीरगन्ज महानगरकाे नाममा विद्यार्थीलाई ठग्ने मोदी इन्स्टिच्युटका सञ्चालक पक्राउ

MadhesKhabar

वप्रका विर्ता मातहतका प्रहरी कार्यालयहरुलाई आगाे निभाउने उपकरण वितरण

MadhesKhabar

Leave a Comment