
काठमाडौं,९भदाैं: चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो ।
नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्धतिका आधारमा गरिएको हो ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेपछि पहिला बलिङ राेजेपछि मलेसियाले निर्धारित २० ओरमा ६ विकेट गुमाउँदै एक सय एक रन बनाएकाे थियो । एक सय दुई रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको नेपालले पाँच दशमलव तीन ओभर खेल्दा वर्षा भएपछि खेल रोकियो । त्यतिबेला नेपालले एक विकेटको क्षतिमा ३७ रन बनाएको थियो । इन्दु बर्मा १९ तथा सीता राना मगर १३ रनका साथ खेल्दै थिइन् ।
वर्षा अत्यधिक भएपछि खेल पुनः सुरु हुन नसकेपछि नेपाललाई विजयी घोषित गरिएको हो ।
बलिङतर्फ नेपालका लागि खुशी डङ्गोलले तीन तथा अश्मिना कर्माचार्य र कविता जोशीले एक एक विकेट लिइन् । फाइनल खेलको प्लेयर अफ दी म्याच नेपालकी खुशी डङ्गोल भइन्
।
नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो । अन्तिम खेलमा नेपाल मलेसिायासित ६ विकेटले पराजित भएको थियो ।
यसैगरी हङकङ पहिलो खेलमा नेपालसित ६ विकेटले पराजित भएको थियो । उसले दोस्रो खेलमा मलेसियालाई १० विकेटले तथा तेस्रो खेलमा कुवेतलाई १६ रनले पराजित गरेको थियो ।
महिला टी–ट्वान्टी सिरिजमा आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत सहभागी भएका थिए । यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले उक्त सिरिज खेलेको हो ।