
काठमाडौं ,३भदाैं: भारतले अन्तरिक्षमा पठाएको चन्द्रयान–३ आगामी बुधबार बेलुकी ६ बजेर ४ मिनेटमा चन्द्रमामा अवतरण गर्ने भएको छ ।
भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसराे) ले एक सूचनामार्फत चन्द्रयान–३ चन्द्रमामा बुधवार बेलुकी अवतरण हुने जानकारी गराएको बीबीसी हिन्दीले जनाएको छ ।
सकुशल अवतरण भएमा चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो यान बन्नेछ । चन्द्रमाको दक्षिणी ध्रुवमै अवतरण गर्ने क्रममा रहेको रुसी यान लुना–२५ आज दुर्घटनामा परेपछि चन्द्रयान–३ लाई पहिलो हुने अवसर आएको हो ।
चन्द्रमाको दक्षिणी ध्रुवमा बरफ र महत्त्वपूर्ण तत्त्वहरू हुनसक्ने वैज्ञानिकहरूले अपेक्षा गरेका छन् । यदि त्यहाँ पानी वा बरफ भएमा भविष्यमा चन्द्रमामा मानव बस्ती बसाल्न सकिने सम्भावना रहने वैज्ञानिकहरूको भनाइ छ ।
यसअघि अमेरिका, रुस र चीनले मात्रै उपकरण चन्द्रमामा अवतरण गराउन सफल भएका छन् । भारतको यान सफलतापूर्वक चन्द्रमामा अवतरण भएमा भारत चौथो देश बन्नेछ ।
चार वर्षअघि चन्द्रयान–२ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि त्यसलाई थप परिष्कृत गर्दै भारतले चन्द्रयान–३ बनाएको हो ।

