Madhes Khabar
मधेस प्रदेश

सर्लाहीमा बाढीले बगाएर दुई जनाको मृत्यु

सांकेतिक फोटो

सर्लाही, २३ साउन : सर्लाहीस्थित वाग्मती नदी र बाँके नदीमा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । नदीमा फसेका दुई जनाको भने उद्धार गरिएको प्रहरीले जनाएको छ ।

सर्लाही र रौतहटको सीमा भएर बग्ने बाग्मती नदीमा आएको बाढीले बगाउँदा रौतहट गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षीय सहिद रहिम भाटको मृत्यु भएको हो । भाट मंगलबार बिहान सर्लाहीको राजघाटस्थित खेतमा काम गर्न आएको बेला बाढीको चपेटामा परेका थिए । भाट खेतमा काम सकेर समनपुर घाटमा रहेको पुलमा पुग्न खोज्दा बाढीले बगाएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । मानिस बगाएको देखेपछि स्थानीयले तत्काल उद्धार गरे पनि उनी गम्भीर घाइते बनेका थिए । भाटको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

यस्तै सर्लाही–महोत्तरीको सीमा भएर बग्ने बाँके खोलामा आएको बाढीले बगाउँदा हरिपुर्वा नगरपालिका–७ बसन्तपुरका ६० वर्षीय भोला चौधरीको मृत्यु भएको छ । सोमबार राति नै घर परिवारबाट सम्पर्कविहीन भएका चौधरीको शव मंगलबार खोलामा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवनको लत्तमा फसेका उनी के कति कारणले खोलामा गएको भन्ने बारेमा बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सर्लाही जिल्ला भएर बग्ने अधिकांश नदी तथा खोलाको बहावले खतरा पार गरिरहेको छ । वाग्मती नदीले बरहथवा नगरपालिका–१ वाग्मतीको बाँध फुट्न थालेपछि मर्मतको काम गरी बाँधलाई जोगाइएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए । उनका अनुसार जोखिम रहेको क्षेत्रमा रेस्क्यू टिम खटाइसकिएको जानकारी दिए ।

वाग्मती नदीको बहाव बढी भई तटबन्ध माथीबाट बरहथवा नगरपालिकाको ५ वडामा पानी पसेको छ । बरहथवा–१, २, ३, ४ र १० मा नदीको पानी पसेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उनका अनुसार धनकौलमा गाई वस्तु चराउन गएका ४०–५० जना फसेको सूचना आएको जनाउँदै आफूसहित सुरक्षाको टोली घटनास्थल पुगिरहेको छु ।

प्रमुख जिल्ला अधिकारी यादवले कौडेना गाउँपालिका–७ शिवनगरमा तटबन्ध भत्किएपछि सुरक्षाकर्मीले नियन्त्रणको प्रयास गरिरहेको बताए ।साभारः इकान्तिपुर

Related posts

सहिद परिवारलाई मधेस सरकारले दिने भनेको राहत घोषणामै सीमित

MadhesKhabar

राैतहटमा बसकाे ठक्करबाट पति-पत्निकाे मृत्युु

MadhesKhabar

वीरगन्जमा गठबन्धनका उम्मेदवारलाइ जिताउन जसपा महिला नेतृहरु सकृय

MadhesKhabar

Leave a Comment