वीरगन्ज,२३साउन:वीरगन्ज उद्योग वाणिज्य संघ र नेपाली युवा उद्यमी मञ्च (एनवाइईएफ) बिच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
संघ र एनवाइईएफका नवनिर्वाचित पदाधिकारी र सदस्यहरू बिच सम्बन्ध विस्तार गर्दै आगामी दिनमा हुन् सक्ने सहकार्यका विषयमा छलफल गर्ने उद्देश्यका साथ आयोजित परिचयात्मक कार्यक्रम सोमबार सम्पन्न भएको हो ।
वीरगन्ज – ४ बिर्तास्थित संघको सभाकक्षमा सम्पन्न परिचयात्मक तथा छलफल कार्यक्रममा बोल्दै संघका अध्यक्ष अनिलकुमार अग्रवालले एनवाइईएफलाई आफूहरूले भगिनी संस्थाका रूपमा लिएको बताए । उद्योगी, व्यवसायी र उद्यमी आबद्ध दुवै संस्थाको उद्देश्य र काम गर्ने क्षेत्र पनि सदृश रहेको बताउँदै उनले सहकार्य गरेर अघि बढ्न धारणा राखे ।
त्यस्तै संघका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद गौतमले एनवाइईएफलाई सँगै लिएर हिँड्न वीरगन्ज उद्योग वाणिज्य संघ सधैँ तयार रहेको बताए । वीरगन्जको हितलाई एक मात्र लक्ष्य बनाएर काम गरिरहेको संघलाई एनवाइईएफका युवा सदस्यहरू मार्फत थप ऊर्जा मिल्ने उनले बताए ।
एनवाइईएफको तर्फबाट अध्यक्ष सन्दीप अग्रवालले संघलाई पनि आफूहरूले अभिभावकका रूपमा लिएको बताए । संघको सहयोगबाट एनवाइईएफले स्थापना भएको तिन वर्ष भित्रमा ५ दर्जन भन्दा बढी कार्यक्रम गरेको स्मरण गराउँदै अग्रवालले भविष्यमा पनि आफूहरूले सम्मान किसिमको सहयोगको अपेक्षा गरेको बताए ।
अग्रवालले उद्योग वाणिज्य संघले एनवाइईएफका युवाहरूलाई आफूसँग जोडेर काँधमा काँध मिलाइ अघि बढ्न सुझाव दिए । युवा शक्ति र अनुभव मिलेरसँगै बढे ठूलो परिवर्तन ल्याउन सकिने उनले विश्वास व्यक्त गरे । उनले एनवाइईएफको कार्यालय स्थापनाका लागि संघले गरेको सहयोगका लागि पनि आभार प्रकट गरेका थिए ।
छलफलमा आगामी अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा संघ र एनवाइईएफले संयुक्त रूपमा आयोजना गर्न लागेको पहिलो वीरगञ्ज यूथ सम्मिट एन्ड अवार्ड्स – २०२३ का विषयमा पनि चर्चा गरिएको थियो ।
कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष मनोज कुमार दास, महासचिव आशिष लाठ, सदस्य एवं तालिम केन्द्रका संयोजक अनुप अग्रवाल, एनवाइईएफका निवर्तमान अध्यक्ष राकेश साह, द्वितिय उपाध्यक्ष विश्वास प्रताप साह, कार्यसमिति सदस्य दीपल खन्ना, सुरज रूङ्ग्टा, सदस्यहरू सुमन कुमार गुप्ता, हितेश जोशी, ऋषि साह, हिमांशु बर्णवाल, आशु कुमार सर्राफ लगायतको सहभागिता रहेको थियो ।