
काठमाडौं,१६ साउन : भारत मध्यप्रदेशस्थित प्रख्यात धार्मिक केन्द्र बागेश्वरधामका संस्थापक आचार्य धिरेन्द्रकृष्ण शास्त्री (बागेश्वरधाम सरकार) ले नवलपरासीको शाश्वत धाममा हनुमन्त कथा वाचन गर्ने भएका छन् ।
उनले २-४ भदौसम्म नेपालको नवलपरासीको शाश्वत धाममा हनुमन्त कथा वाचन गर्ने चौधरी ग्रुपले जानकारी दिएको छ । बागेश्वरधाम सरकारका नामले चर्चित आचार्य धिरेन्द्रकृष्ण शास्त्री अध्यात्मिक गुरूका रुपमा परिचित छन् ।
चौधरी ग्रुपद्वारा नवलपरासीमा स्थापित शाश्वतधाममा नेपालसहित भारतीय हिन्दु धर्मावलम्वीको आकर्षणका रुपमा रहेको छ ।
बागेश्वरधाम सरकारले सामाजिक सञ्जालमार्फत् भिडियो सन्देश दिंदै पुण्यभूमि नेपालस्थित सनातन धर्मको सर्वाधिक आस्थाको केन्द्रका रुपमा विकसित शाश्वत धाममा हनुमन्त कथा प्रवचनको अवसरलाई यस क्षेत्रका समस्त सनातन धर्मप्रति आस्थावान भक्तजनहरूले उपयोग गर्न आग्रह गरेका छन् ।
चौधरी ग्रुप एवम् सीजीकर्प ग्लोबलका प्रवन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा बागेश्वरधाम सरकारको शाश्वतधाम कथा वाचन यात्रा तय भएको चौधरी ग्रुपले जनाएको छ ।
उनले शाश्वतधाममा कथा वाचनमा जानु अगाडि १ भदौमा काठमाडौंमा पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ । सोही दिन उनी पशुपतिनाथको सन्ध्या आरतीमा समेत सहभागी हुने भएका छन् । त्यसपछि उनी नवलपुरस्थित शाश्वतधाम प्रस्थान गर्ने कार्यक्रम छ ।साभार : अनलाइनखबर

