
वीरगन्ज,१६ साउन : लम्पी स्किन रोगका कारण मधेस प्रदेशमा हालसम्म २ हजारभन्दा बढी गाईवस्तुसहितका पशुहरु मरेका छन् । खडेरीको चपेटामा परेको मधेस प्रदेशको आठ वटै जिल्लामा लम्पी स्किन रोगका कारण गाईवस्तु मर्दा किसानले ठूलो नोक्सान बेहोर्नुपरेको छ ।
मधेस प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार सिरहामा सबैभन्दा बढी १ हजार १ सय १८ पशु मरेका छन् ।लम्पी स्किन रोगका कारण पर्सामा भने दुईवटा मात्र पशु मरेका छन् । साथै मधेस प्रदेशमा हालसम्म लम्पी स्किन रोगबाट २ हजार २५ पशुको मृत्यु भइसकेको छ ।
यसैबीच मधेसका विभिन्न जिल्लामा पशुलाई लम्पी स्किन रोगविरुद्धको खोप लगाउने क्रम पनि जारी छ । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पशु अधिकृत डा. रञ्जितकुमार अधिकारीले मधेस प्रदेशका आठवटै जिल्लाहरुमा हालसम्म ४५ हजार ८ सय २५ पशुलाई लम्पी स्किनविरुद्वको खोप लगाइसकेको जानकारी दिए ।
‘धेरै हदसम्म पशुहरु निको पनि भएका छन् । ६७ हजारमा दुई हजार जति पशुको मृत्यु भएको छ । बाँकी चाहिँ निको हुने क्रममा छन् । यो रोग निको हुन अलिक समय लाग्छ । करिब २० देखि २५ दिनसम्म रोग निको हुन समय लाग्ने भएकाले अलिक गाह्रो हुन्छ,’ डा. अधिकारीले भने ।
लम्पी स्किन रोगका कारण पशुको दुध उत्पादनमा पनि ह्रास आएको डा. अधिकारीले बताए । यस्तै पशुहरुमा बाँझोपनको पनि समस्या आउने र पशुहरु कमजोर हुँदै जाने समस्या रहेको उनले बताए ।
खोपका लागि भने मधेस सरकारले ६४ हजार डोज खोप खरिद गर्नुका साथै स्थानीय तहले खोपको कार्यक्रमलाई अगाडि बढाएका छन् । यसबीचमा ४५ हजार डोज खोप लगाइसकिएको डा. अधिकारीले जानकारी दिए ।
मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले मधेश सरकारले आठवटै जिल्लामा आठ÷आठ हजारका दरले ६४ हजार खोप पठाएको बताए ।
मन्त्री न्यौपानेले यो समस्या पहिलादेखि नै भए पनि अहिले भयावह भएको भन्दै यस्ता समस्या दीर्घकालीन रुपमा समाधान गर्न सरकारले पहल गर्ने बताए ।साभार : इकान्तिपुर

