Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

आर्थिक मन्दीको असर : वीरगन्जका दुवै भन्सार कार्यालय राजश्व असुलीको लक्ष्य भेट्याउन असफल

वीरगन्ज, ३ साउन : मुलुकको कूल आयात निर्यातको झण्डै ७० प्रतिशत कारोबार हुने वीरगन्ज नाकामा रहेका दुवै भन्सार कार्यालय गत आर्थिक वर्षमा राजश्व संकलनको लक्ष्य पुरा गर्न असफल भएका छन् ।

नेपालकै प्रमुख प्रवेशद्वार वीरगन्ज नाकामा रहेका वीरगन्ज भन्सार कार्यालय र सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७९÷८० मा लक्ष्यको ६० प्रतिशत हाराहारीमा मात्र राजश्व संकलन गरेका छन् ।

विश्वव्यापी आर्थिक मन्दीका कारण वीरगन्ज नाकामा रहेका दुवै भन्सार कार्यालयले भन्सार विभागले दिएको लक्ष्यको ६० प्रतिशत हाराहारीमा मात्रै राजश्व संकलन गर्न सकेको भन्सार कार्यालयका कर्मचारी बताउछन् ।

गत आर्थिक वर्षमा भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयलाई २ खर्ब ६० अर्ब ९७ करोड २ लाख ८ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य दिएको थियो । तर वीरगन्ज भन्सारले लक्ष्यको ६०.२० प्रतिशत मात्र अर्थात १ खर्ब ५७ अर्ब ८ करोड रुपैयाँ मात्र राजश्व संकलन गरेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले बताए ।

वीरगन्ज भन्सारले अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा भने लक्ष्य भन्दा बढी नै राजस्व संकलन गरेको थियो । अघिल्लो आर्थिक वर्षमा वीरगन्ज भन्सारले लक्ष्य भन्दा शुन्य दशमलव ५४ प्रतिशतले बढि नै अर्थात भन्सार विभागले दिएको लक्ष्य भन्दा १ अर्ब ९ करोड ५३ लाख २२ हजार रुपैया बढि राजश्व संकलन गरेको थियो ।उक्त आर्थिक वर्षमाका लागि भन्सार विभागले २ खर्ब ३ अर्ब २ करोड ५० लाख ३७ हजार रुपैयाको लक्ष्य दिएकोमा वीरगन्ज भन्सारले २ खर्ब ४ अर्ब १२ करोड ३ लाख ५९ हजार रुपैया राजश्व संकलन गरेको थियो । त्यसअघिका लगातार पाँच वर्ष (आर्थिक वर्ष २०७२÷०७३ देखि २०७७÷७८ सम्म) मा भने वीरगन्ज भन्सार राजश्व असुलीको लक्ष्य पुरा गर्न असफल नै भएको थियो ।

त्यस्तै वीरगन्जमै रहेको सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले पनि गत आर्थिक वर्षमा लक्ष्यको ६२.८८ प्रतिशत मात्रै राजश्व संकलन गर्न सकेको छ ।भन्सार विभागले गत आर्थिक वर्षमा सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयलाई ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य दिएको थियो । तर उक्त भन्सारले पनि लक्ष्यको ६२.८८ प्रतिशत मात्रै अर्थात ४२ अर्ब ४० करोड २२ लाख ९२ हजार रुपैयाँमात्र राजश्व संकलन गर्न सकेको सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख रामप्रसाद मैनालीले बताए ।

सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले अघिल्लो आर्थिक वर्ष मा पनि लक्ष्य भन्दा करिब ५ प्रतिशत कम अर्थात लक्ष्यको ९४.९८ प्रतिशतमात्रै राजश्व संकलन गरेको थियो । उक्त आर्थिक वर्षमा भन्सार विभागले ५२ अर्ब ४ करोड ९९ लाख ११ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य दिएकोमा सुख्खा बन्दरगाह भन्सार कार्यालयले ४९ अर्ब ४३ करोड ६५ लाख ४४ हजार रुपैयाँमात्रै राजश्व संकलन गरेको थियो ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक पन्थीले गत आर्थिक वर्षमा राजश्व संकलनको लक्ष्य पुरा गर्न नसक्नुको प्रमुख कारण विश्वव्यापी आर्थिक मन्दी भएको बताए । यसका साथै बढि राजश्व उठ्ने पेट्रोलियम पदार्थ , नयाँ सवारी साधन र औद्योगिक कच्चा पदार्थको आयातमा कमी आएका कारणलेपनि त्यसको असर राजश्व संकलनमा परेको पन्थीले बताए ।पन्थीले भने,‘ राजश्व असुलीको लक्ष्य पुरा गर्न नसक्नुको प्रमुख कारण त विश्वव्यापी आर्थिक मन्दीको असर नै हो , जसका कारण समग्र मालवस्तुको आयातमा ह्वात्तै कमी आयो, त्यससंगै बढि राजश्व उठ्ने इन्धन ,नयाँ सवारी साधन र औद्योगिक कच्चा पदार्थको आयातमा पनि कमी भयो ।’

सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख रामप्रसाद मैनालीले पनि विश्वव्यापी आर्थिक मन्दीको असर सुख्खा बन्दरगाह भन्सारको राजश्व असुलीमा पनि परेको बताए । यससगै केहि महिना विलाशीता वस्तुहरुको आयातमा प्रतिबन्ध लागेका कारणलेपनि त्यसको नकरात्मक असर राजश्व संकलनमा परेको उनले बताए । उनले भने,‘ आर्थिक मन्दीले बजार चलायनमान नहुदाँ मालवस्तूको आयातमा कमी आयो , यससंगै नेपाल सरकारले नै केहि महिना सम्म विदेशी मदिरा , नयाँ सवारीसाधन, इलेक्ट्रोनिक्स उपकरण लगायतका विलाशीताका वस्तुहरुको आयातमा प्रतिबन्ध नै लगायो , यी सबै कारणले भन्सारको राजश्व असुली प्रभावित हुन पुगेको हो ।’

Related posts

नारायणी अस्पतालमा जनशक्ति थप गर्न सांसद प्रदीप यादवको माग

MadhesKhabar

नागरिकताबाट बञ्चित जन्मसिद्ध नागरिकका सन्तानहरुद्वारा वीरगन्जमा प्रदर्शन

MadhesKhabar

तयार भयाे घण्टाघर

MadhesKhabar

Leave a Comment