Madhes Khabar
कृषि हेडलाइन

वर्षा नहुदाँ पर्सामा खेतहरु बाँझै ,रोपाईंका लागि आकाशे पानी कुर्दै किसानहरु

वीरगन्ज, १५ असार : पोहोर समयमै वर्षा भएका कारण असार दोश्रो साता नै खेत धान रोपाइं सकाएर भ्याएका पर्साको सखुवा प्रसौनी गाँउपालिका ४ का किसान रामदयाल यादव यसपालि भने खडेरीका कारण ब्याडको बीउ नै डढेर बिग्रिएपछि फेरि अर्को ब्याडको तयारीमा जुटेका छन् ।

रामदयाल भन्छन्,‘ यसपालि जस्तो पानीको अकाल त कहिलेपनि भएको थिएन , न नहरमा पानी छ न समयमा वर्षात नै भएको छ , बोरिङले पानी पटाएर खेतमा राखेको बीउ डढेर सत्यनाश भयो , अब फेरि अर्को ब्याड तयार पार्दैछु ।

रामदयालको जस्तै पिडा पकाहामैनपुर गाँउपालिका ४ खेस्राहाका रमानन्द साहको पनि छ ।खडेरीले ब्याडमा बीउ उम्रन नपाई डढेर बिग्रिएको दुखेसो उनको पनि छ । उनि भन्छन्,‘ रोप्ने बेला सम्म त पानी परिहाल्ला भनेर दुखसुख गरेर पम्पीसेटबाट पानी पटाएर ब्याडमा बीउ त छरे तर खडेरीका कारणले बीउ समेत जोगाउन सकिएन । अब फेरि पम्पीसेटबाटै पानी पटाएर अर्को ब्याड तयार पारिरहेको उनले सुनाए ।

मध्य असार बित्न लाग्दा समेत धान रोप्नका लागि यहाँका किसानहरु आकाशे पानी (वर्षा) कुरेर बसेका छन् । असार १५ बिति सक्दा समेत पर्सामा ९७ प्रतिशत खेत बाँझो नै छ । पर्सामा अहिले सम्म ३÷४ प्रतिशत मात्रै धानको रोपाइ हुन सकेको कृषि ज्ञान केन्द्र पर्साका बाली विकास अधिकृत सुरेश प्रसाद चौरसीयाले बताए ।हरेक वर्ष असार १५ मा छिपछिपमे हिलोमा धान रोपाँइ गरेर राष्ट्रिय धान दिवस मनाउने चलन रहेकोमा यसपालि भने लामोसमय देखि वर्षा नभएर खडेरी परेका कारण किसानका खेत बाँझै रहेको उनले बताए ।

कषि ज्ञान केन्द्रका अनुसार, पर्सा जिल्लामा ४६ हजार ७१० हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्छ ।तर लामो समयदेखि वर्षा नभएका कारण मध्य असार बित्न लाग्दा समेत पर्सामा धानको रोपाँइ नगण्य मात्रै भएको उनले बताए । चौरसियाले भने,‘ गण्डक नहर भन्दा उत्तरतिर जंगल छेउका गाँउहरुमा जहाँ पइनी (कूलो) को सुविधा छ त्यतातिर छिटफुट रुपमा रोपाँइ भएको छ , गण्डक नहरको दक्षिण भेगमा अहिलेसम्म रोपाँइ सुरु नै भएको छै्रन ।अहिले जतिपनि रोपाई भइरहेको छ ती सबै पम्पीसेट वा बोेरिङले पानी पटाएर भइरहेको छ । ’

बोरिङबाट पानी पटाएर (सिंचाइ गरेर ) खेतमा छरेको बीउ खडेरीले डढेपछि कतिपय किसानहरु फेरि अर्को ब्याड तयार पार्नमा व्यस्त रहेको चौरसियाले जानकारी दिए ।चौरसियाले भने,‘ नहर भन्दा उत्तरतिरका किसानले बोरिङ र पम्पीसेटबाट सिंचाइ गरेर छिटफुट रोपाँई गरिरहेका छन् , तर नहरभन्दा दक्षिण भेगमा त खडेरीले ब्याडको बीउ नै डढेपछि किसानहरु फेरि अर्को ब्याड तयार पार्नमा जुटेका छन् ।

चौरसीयाले भने, ‘दुई चार दिनमा पानी परिहालेपनि रोपाई सुरु भइहाल्ने अवस्थापनि छैन किनकि प्रायजसो किसानको बीउ नै तयार भइसकेको छैन , त्यसका कारण पानी परि नै हाल्यो भनेपनि पर्साामा रोपाँइले रफतार लिन अझैपनि कम्तिमा दुई हप्ता समय लाग्न सक्छ ।

उनका अनुसार ब्याडमा छरेको बीउ , छरेको २१ देखि २५ दिनपछि मात्र खेतमा रोप्नका लागि तयार हुन्छ । त्यो भन्दापहिले रोपाँइ गरेर धानको उत्पादनमा असर पर्ने चौरसियाले बताए ।

 

Related posts

निजगढमा विमानस्थल बन्छ : नवनियुक्त पर्यटन मन्त्री किराँती

MadhesKhabar

पर्सामा पाटे बाघ मृत अवस्थामा फेला

MadhesKhabar

प्रधानमन्त्रीसंग सिके राउतले भने : सरकारमा जान सकरात्मक छाैं

MadhesKhabar

Leave a Comment