Madhes Khabar
स्थानिय हेडलाइन

बजेटमा सबैको अपनत्व दिलाउने वीरगन्ज महानगरकाे प्रयास

वीरगन्ज, ५ असार:वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, बजेट तथा कार्यक्रमका लागि यहाँका राजनीतिक दलका प्रतिनिधिहरुसँग सुझाव लिएका छन् ।

आगामी आर्थिक वर्षाको नीति, बजेट तथा कार्यक्रम तर्जुमाका लागि सोमबार सबै राजनीतिक दलका प्रतिनिधिबाट राय सुझाव लिइएको मेयर सिंहले बताए । बुधबार नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरिरहेको महानगरले बजेटमा सबैको अपनत्व बनाउन यहाँ प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिसँग राय सुझाब लिएको हो ।

वीरगन्ज बनाउन सबै लाग्नु पर्ने भएकाले बजेटमा सबैको सुझाव र सल्लाह समेट्न खोजिएको मेयर सिंहले बताए ।

राजनीतिक दलका प्रतिनिधिहरुले सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, वन वातावरण, सेवा प्रवाह र सुशासनका सवालमा आफ्ना सुझाव सल्लाह र राय दिएका छन् ।
नेपाली कांग्रेस वीरगन्ज महानगरका सभापति मणिन्द्रलाल श्रेष्ठले ट्राफिक समस्या समाधान गर्न विभिन्न स्थानमा स्काई बिज्र बनाउनु पर्ने, पछि जोडिएका वडाहरुमा सडक संजाल विस्तार गर्नुपर्ने लगायतका सुझाव दिए । नेकपा एमाले वीरगन्ज महानगर कमिटीका अध्यक्ष राजेन्द्र प्रसाद यादवले अहिले पानीको विकराल समस्या देखिएकोले यसको समाधानका लागि दीर्घकालिन उपाय खोज्न आग्रह गरे। नेकपा एकिकृत समाजवादीका वीरगन्ज महानगर अध्यक्ष मनोज चौधरीले सबै राजनीतिक दलका प्रतिनिधिलाई बोलाएर सुझाव लिने परम्परा थालेकोमा मेयर सिंहलाई धन्यवाद दिदै वीरगन्जको लाइफलाइनको रुपमा रहेको सिर्सिया नदी सफाईलाई प्राथमिकता दिँदै नदीको राइट अफ वे छुट्याएर करिडोर निर्माण गर्न आग्रह गरे ।

जनमत पार्टीका पर्सा संयोजक ओमप्रकाश सर्राफले स्थानीय सरकारले स्थानीय उत्पादनको पहिचान गरेर ब्राण्डिङ गर्दै आयआर्जनलाई व्यवसायिकरण बनाउने गरि बजेट व्यवस्था गर्न माग गरे । महानगरले गर्ने काम परदर्शी हुनु पर्ने भन्दै उनले जनसंख्या र भूगोलको आधारमा वडामा बजेट विनियोजन गर्न पनि सुझाव दिए ।

जसपाका नगरकमिटी अध्यक्ष इश्वरचन्द्र यादवले पानीको समस्या समाधान गर्न घरबाट निस्कने पानी सोझै नालामा नभई भूमिगत पानीको पुनर्भरणका लागि घरमा व्यवस्था मिलाउन पर्ने सुझाव दिए ।

मेयर सिंहले वीरगन्जको विकास र समृद्धिका लागि हरेक महिना सबै राजनीतिक दलका प्रतिनिधिसँग छलफल गर्दै आएका छन्।

मेयर सिंहको अध्यक्षतामा सम्पन्न बैठकमा सबै राजनीतिक दलका प्रतिनिधि, मेयरका प्रेस सल्लाहकार महेश दास, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल लगायतकोपनि सहभागिता रहेको थियो ।

Related posts

सांसद यादव र मेयर सिंहको पहल : नेपाली गाडीलाई रक्सौल जान लिनु पर्दैन पास

MadhesKhabar

पटेर्वा सुगाैलीकाे विशेष गाँउसभा : याेजनाहरु संशाेधन,ऐन-कानुन पारित

MadhesKhabar

मधेस प्रदेशमा १ लाख ४६ हजार सवारी साधन कारबाहीमा

MadhesKhabar

Leave a Comment