Madhes Khabar
राष्ट्रिय हेडलाइन

अझै पाँच दिन गर्मी बढ्ने , घरबाट बाहिर ननिस्किन सुझाव

वीरगन्ज ,२५जेष्ठ : पर्सा, बारासहित देशभर बढ्दो गर्मी तत्काल रोकिने संकेत नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

महाशाखाले विशेष बुलेटिन सार्वजनिक गर्दै पर्सा, बारासहित मध्य तराईका भूभागमा आज बिहीबारदेखि पाँच दिनसम्म तातो हावा तथा लु लाग्ने सम्भावना रहेको भन्दै अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन सुझावसमेत दिएको छ ।

 

महाशाखाका अनुसार अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्ने हुँदा तराई मधेशका जिल्लाहरुमा तातो हावा तथा लूको सम्भावना छ । त्यसैले त्यसबाट बच्न सतर्कता अपनाउन जरुरी छ ।

महाशाखाका मौसमविद गोविन्द झाका अनुसार हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन गर्दा तत्काल मनसुन भित्रिने सम्भावना छैन र तराई, पहाड तथा खोँचहरुमा समेत अझै तापक्रम वृद्धि हुने पूर्वानुमान छ ।

 

विभागका अनुसार, बुधबार वीरगन्ज र यस आसपासका क्षेत्रमा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस मापन गरिएको थियाे । आज बिहीबार यस क्षेत्रमा अधिकतम तापक्रम ४३ डिग्री र भाेलि शुक्रबार ४४ डिग्री भन्दा बढी नै पुग्ने अनुमान छ ।

तराई मधेशका अधिकांश जिल्लामा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ । पूर्व, मध्य र पश्चिम तराईका जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा पनि माथि पुगेको रेकर्ड छ । गर्मी अत्यधिक बढेपछि तराई मधेशका जिल्लाहरुमा विद्यालय बन्द गरिएको छ ।

यसअघि नै जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा बढी गर्मी हुने र मनसुन अवधिमा कम पानी पर्ने प्रक्षेपण सार्वजनिक गरेको थियो ।

विभाग मातहतको महाशाखाले विशेष बुलेटिन जारी गर्दै बढ्दो गर्मीका कारण मानव स्वास्थ्यमा पर्नसक्ने असर र त्यसबाट जोगिने उपायहरु समेत सुझाएको छ ।

बुलेटिनमा लेखिए अनुसार तातो हावा तथा लुबाट थकाइ लाग्ने, तीर्खा बढी लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर लाग्ने, बेहोस् हुने, पांसपेशीहरु दुख्ने, बान्ता हुने आदि लक्षण देखिन्छन् । यस्ता लक्षण देखिए स्वास्थ्य संस्था जान वा स्वास्थ्यकर्मीको परामर्श लिन महाशाखाले सुझाएको छ ।

गर्मीको बेला घर बाहिर ननिस्कन, बाहिर निस्किनै परे टाउको छोप्न, पटक–पटक पानी वा झोल पदार्थ प्रशस्त पिउन र हल्का खालका सुतीका कपडा लगाउन पनि सुझाव दिइएको छ ।

Related posts

तामागढी–सिम्रौनगढ सडक बनेको ३ वर्ष बित्दा पनि जग्गाधनीले अझै पाएनन् मुआब्जा

MadhesKhabar

महिला ट्राफिक प्रहरीले महिनावारीका ४ दिन सडकमा ड्युटी गर्नु नपर्ने गृहमन्त्री लामिछानेको घोषणा

MadhesKhabar

वीरगन्ज हेल्थ केयर हस्पिटलमा जेनजी आन्दोलनमा घाइते नगर प्रहरीकाे नि:शुल्क उपचार

MadhesKhabar

Leave a Comment