
नाम अरुण ज्ञवाली । पेशाले अधिवक्ता । विगतको राजनीतिक पृष्ठभूमी नेपाली कांग्रेसको निलम्बित महासमिति सदस्य । तर हाल प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट बारा २ मा प्रतिनिधीसभा सदस्यका उम्मेदवार । बैशाख १०मा हुन गइरहेको उपनिर्वाचन बारे स्थलगत रिपोर्टिगं गर्न बारा २ मा पुग्दा बारा बजारमा चुनावी घरदैलो गर्दै गरेको अवस्थामा भेटिए उनै ज्ञवाली । एक मतदाताको फुसको घरमा भेटिएका आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीसंग गरिएको चुनावी संवाद
मतदाताको घरदैलोमा पुगिरहनु भएको छ , उनिहरुबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
हुन त पाच दलीय गठबन्धन र अन्य दलका उम्मेदवारको चुनावी जुलुशमा केहि भिड देखिएको छ तर यस क्षेत्रका ५० प्रतिशत भन्दा बढि मतदाता साइलेन्ट छन् । साइलेन्ट मतदाता भनेका गरिब , विपन्न , युवा , महिला र दलितहरु हुन् । उनिहरु परम्परागत दल र तीनका नेताहरुबाट पटक पटक पिडित मात्र नभइ विक्षप्त नै छन् । यहाका नेताहरुको कमीका कारण उनिहरुले विकल्प खोजी रहेका छन् , यहि माटोको धर्तीपुत्र खोजिरहेका छन् , त्यस्तो धर्तीपुत्र जो दल भन्दा पनि माथिको सोच्ने होस् । हुन त सिके राउत जीले धर्तीपुत्र भन्दै शीवचन्द्र कुशवाहालाई लिएर आउनु भएको छ , तर शीवचन्द्र जी एक पटक सांसद बनिसक्नुभएको छ , तर उहाले गरेका गतिविधी र व्यवहारबाट पनि जनता सन्तुष्ट छैनन् , रुष्ट नै छन् । त्यसैले उनिहरुका लागि अन्तिम विकल्प भनेको अरुण ज्ञवाली नै हो । त्यसका कारण म निक्कै उत्साहित छु ।
त्यसोभए जित्ने तपाई नै हो र ? अनि तपाईको प्रतिस्पर्धा कोसंग हुन्छ त ?
अहिलेको लडाइ भनेको अरुण ज्ञवाली र जनमतका शीवचन्द्र कुशवाहा बिच नै हुन्छ । जसपाका उपेन्द्र यादव प्रतिस्पर्धाको रेसमै छैनन् । सम्भवत उनि तेश्रो या चौथो नम्बरमा पुग्छन् होला ।
जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव , जसलाई पाँच दलको पनि समर्थन छ ,विगतको चुनावी अंकगणितमा उहाको जित सहजै देखिन्छ , अनि उहाँ प्रतिस्पर्धामै हुनुहुन्न भनेर भन्नु हास्यास्पद भएन र ?
हेर्नुसु स्थानीय निर्वाचनको कुरा गर्ने हो भने यो क्षेत्रमा पर्ने ५ वटै पालिकामा गरि काँग्रेसको २१ हजार भोट थियो , जसपाले १८ हजार भोट पाएको थियो , माओवादी र लोसपाले ५÷५ हजार भोट ल्याएका थिए । अहिले गठबन्धनमा रहेका यी दलहरुको त्यतिबेलाको भोट जोड्दा ५० हजार पुग्छ । त्यसपछि गत संसदीय निर्वाचनको कुरा गर्ने हो भने जसपा र उसका बागी दुइ उम्मेदवार रामकिशोर यादव र रोशन यादवको मात्रै मत जोड्दा करिब ३५ हजार पुगेको थियो । त्यसो भए अहिले जसपाका उम्मेदवार उपेन्द्र यादव जीलाई अहिले नै जितको माला लगाइदिए भैगो नि त । यदि सहजै जितिरहनु भएको छ भने उपेन्द्र जी किन यति तनावमा हुनुहुन्छ ? उहाको अनुहारमा किन यति धेरै व्याकुलता छ ? पाँचै दलका शीर्ष नेताहरु यहा ओइरिएर घरघरमा धाइरहनु भएको छ ।के यो पराजयको संकेत होइन र ?
उपेन्द्र यादव त गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ , आफना उम्मेदवारलाई जिताउन नेताहरु चुनावी प्रचारमा आउनु अस्वभाविक हो र ?
सुन्नुस् एउटा कुरामा तपाइ पनि क्लियर हुनुस् यहाका जनता एउटा कुरामा दृढ र स्पष्ट छन् कि बाहिरबाट आएका उम्मेदवारलाई कुनैपनि हालतमा भोट दिदैनौ , जिताउदैनौ ।
तर बारा २ मै यसअघि पटक पटक यहाको मतदाता नभएकै नेताले जितेको इतिहास साक्षी छ त ?
विगतमा के भयो ? त्यसको रटान नगरौं , यसपालि भने बाहिरबाट आएर यहा उम्मेदवार बनेकाले जित्दैनन् , यो मेरो ठाकुवा हो । किनकि जनताले यहिको सक्षम धर्तीपूत्र खोजिरहेका छन् । मैले दिनहु गरिरहेका चुनावीसभामा जनताको भिड हेर्नुस् ,अरु उम्मेदवारको चुनावी कार्यक्रममा जनताको सहभागिता हेर्नुस् , आफै थाहा पाइ हाल्नुहुन्छ ।
अनि चुनावी कार्यक्रममा नाचगान हेर्न आएको भिड मतमा परिणत नै हुन्छ भन्ने ग्यारेन्टी कसरी गर्नु हुन्छ ?
मैले बिना आधार भनेको होइन तपाइ पहिला क्लीयर हुनुस् । गत मंसिर ४ को निर्वाचनमा पनि गठबन्धन थियो , जित्ने जसपाका रामसहाय यादवले साढे १३ हजार मत ल्याउदा म स्वतन्त्र लडेरै ८ हजार भन्दा बढि मत ल्याएको थियो । अहिले त म विकासप्रेमी नेतको छवि बनाएका प्रभु साह नेतृत्वको आम जनता पार्टीको उम्मेदवारका रुपमा उत्रिएको छु । हिजो स्वतन्त्र लड्दा ८ हजार भन्दाबढि मत ल्याएको अरुण ज्ञवालीले अहिले विकासप्रेमी पार्टीको उम्मेदवार बन्दा त्यसको तेब्बर मत नआउने कुरैछैन । जब बाक्सा खुल्छ अनि थाहा पाउनु होला मैले कति भोट पाउँछु ।
एकतिर उपेन्द्र यादवलाई जिताउन पाँच दलीय गठबन्धनका शीर्ष नेताहरु लगातार यहा आएर मतदातालाई रिझाइ रहेका छन् , अर्कोतिर मधेसमा नयाँ शक्तिका रुपमा उदाएको जनमत पार्टीका उम्मेदवार शीवचन्द्र कुशवाहालाई जिताउन अध्यक्ष सिके राउत स्वंय डेराडन्टा नै जमाएर बसिरहनुभएको छ । अनि जित्ने त मै हुँ भनेर तपाईले दाबी गरि रहनुभएको छ । यो त अलि नसुहाउँदो दाबी भएन र ?
एउटा कुरा के बुझनुस् भने बाराका मतदाता स्वतन्त्र छन् पार्टीको गाँठ (बन्धन) मा बाधिएका छैनन् । यो कुरा गत निर्वाचनको नतिजाले पनि पुष्टि गरिसकेको छ त । मंसिरमा भएको निर्वाचनमा तत्कालीन माओवादीबाट शीवचन्द्र कुशवाहा कांग्रेस सहितको गठबन्धनको उम्मेदवार हुनुहुन्थ्यो , तर उहाले १३ हजार भन्दा केहि बढि मत मात्रै पाउनुभयो , जबकि गत स्थानीय तहको निर्वाचनमा यी दुवै पार्टीको मत जोड्दा ३६ हजार पुगेको थियो । तर शीवचन्द्रले किन १३ हजार मात्रै मत पाउनुभयो त ? यस्तै मंसिर ४ को संसदीय निर्वाचनमा चुनाव जितेका जसपाका उम्मेदवार रामसहाय यादवले साढे १३ हजार मत मात्रै पाउनुभयो ।उहालाई एमालेले पनि समर्थन गरेको थियो । गत स्थानीय तहको निर्वाचनमा जसपा र एमालेले पाएको मत ३० हजार भन्दाबढि नै थियो । तर उहाले साढे १३ हजार मात्रै मत किन पाउनु भयो ? यसले के पुष्टि गर्छ भने गठबन्धन वा तालमेल पार्टी र तीनका शीर्ष नेताले गर्छन् जनताले गर्दैनन् । त्यसमा पनि बारा २ का जनता झन सचेत छन् , उनिहरु दलका नेताका दास होइनन् , मत आफुले चाहेको र रोजेको नेतालाई नै हाल्छन् । त्यसका कारण गठबन्धन गर्दैमा चुनाव जितिहालिन्छ भनेर कसैले सोच्छ भने त्यो उसको मुर्खता हुनेछ ।
तपाई कांग्रेस पृष्ठभूमीको मान्छे , त्यसका कारण गठबन्धनबाट असन्तुष्ट कांग्रेसका कार्यकर्ता , समर्थक र शुभचिन्तकको मत मैले नै पाउछु भन्ने तपाईको विश्वास हो ?
मैले पाउने त्यो मत पनि हो । हुन त शेरबहादुर देउवाको ठाडो निर्देशनमा बारा २ मा कांग्रेसले गठबन्धन गरेर जसपालाई समर्थन गरेको छ । यसबाट यस क्षेत्रका कांग्रेसी कार्यकर्ता र शुभचिन्तक मात्रै असन्तुष्ट छैनन् , यस क्षेत्रमा वर्षौदेखि सकृय राजनीति गर्दै आएका कांग्रेसी नेताहरु पनि भित्रभित्रै असन्तुष्ट र आक्रोशित छन् । त्यसैपनि यो क्षेत्रमा कांग्रेसको पकड निक्कै मजबुत मानिन्छ । यस्तो अवस्थामा शेर बहादुरले भन्दैमा ती कांग्रेसी नेताहरुले जसपा वा अरु पार्टीका नेतालाई जिताएर आउने यसपछिको आउने निर्वाचनमा राजनीतिक आत्महत्या गर्न तयार हुन्छन् त ? अघि मैले शुरुमा भने नि साइलेन्ट भोट , हो त्यो साइलेन्ट भोट भनेकै यिनिहरु हुन् ।
आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीलाई बारा २ का जनताले मत दिएर किन जिताउने ? तपाईका चुनावी एजेण्डाहरु के के हुन् जनताका लागि ?
मेरो चुनावी एजेण्डा भनेको पहिलो सडक पुर्वाधारको विकास र विस्तार गर्नु हो । कबहीगोठ भन्सार खुलाउदै त्यहाबाट उत्तरीभेगको जंगलसम्मको सडक कालोपत्रे गरेर राजमार्गका रुपमा स्तरोन्नत्ती गर्ने , यस क्षेत्रमा रहेका थलही र सुखलही कच्ची बाँधलाई पक्की बनाएर किसानको खेतखेत सम्म सिंचाइ पुरयाउने । सामुदायिक विधालय र स्वास्थ्य संस्थाहरुको पुर्वाधार सुधार्ने र सेवालाई सहज बनाउने । किसानका समस्यालाई सम्बोधन गर्न सदनमा सशक्त आवाज उठाउने ।यसबाहेक यस क्षेत्रमा रोजगारी सृजनाका लागि नीति निर्माणको तहमै भूमीका खेल्नेछु । यस क्षेत्रका जनता माझ अरु उम्मेदवारको भन्दा मेरो छवि पृथक छ । किनकि मंसिर ४ मा मैले चुनाव हारेपनि जनताको समस्या र दुखपिडामा साथमै रहे । म क्षेत्र छाडेर भागिन । यसक्षेत्रको विकास र रोजगारीका लागि सकेजतिको काम गरिरहे ।
एउटा हल्ला के सुनिदैछ भने चुनाव हार्ने अवस्था भयो भने अन्तिम समयमा अरुण ज्ञवालीले अन्य उम्मेदवारलाई समर्थन गरिदिन्छन्र ? के यो सत्य हो ?
तपाइले उल्टो सुन्नुभएछ । बैशाख ७ गते अन्य केहि उम्मेदवारले मलाई समर्थन गर्न सक्ने सम्भावना छ । मैले अरुलाई होइन बरु मलाई अरु उम्मेदवारले समर्थन गर्छन् । यसका लागि एक चरणको वार्ता भइसकेको छ । तर ती उम्मेदवारहरुको नाम अहिले म भन्दिन , ७ गते तपाइहरुले थाहा पाइ हाल्नु हुन्छ ।

