Madhes Khabar
राजनीति

बारा २ मा असन्तुष्ट कांग्रेसीहरुको पनि भोट पाएर म जित्छु : अरुण ज्ञवाली

नाम अरुण ज्ञवाली । पेशाले अधिवक्ता । विगतको राजनीतिक पृष्ठभूमी नेपाली कांग्रेसको निलम्बित महासमिति सदस्य । तर हाल प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट बारा २ मा प्रतिनिधीसभा सदस्यका उम्मेदवार । बैशाख १०मा हुन गइरहेको उपनिर्वाचन बारे स्थलगत रिपोर्टिगं गर्न बारा २ मा पुग्दा बारा बजारमा चुनावी घरदैलो गर्दै गरेको अवस्थामा भेटिए उनै ज्ञवाली । एक मतदाताको फुसको घरमा भेटिएका आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीसंग गरिएको चुनावी संवाद

मतदाताको घरदैलोमा पुगिरहनु भएको छ , उनिहरुबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?

हुन त पाच दलीय गठबन्धन र अन्य दलका उम्मेदवारको चुनावी जुलुशमा केहि भिड देखिएको छ तर यस क्षेत्रका ५० प्रतिशत भन्दा बढि मतदाता साइलेन्ट छन् । साइलेन्ट मतदाता भनेका गरिब , विपन्न , युवा , महिला र दलितहरु हुन् । उनिहरु परम्परागत दल र तीनका नेताहरुबाट पटक पटक पिडित मात्र नभइ विक्षप्त नै छन् । यहाका नेताहरुको कमीका कारण उनिहरुले विकल्प खोजी रहेका छन् , यहि माटोको धर्तीपुत्र खोजिरहेका छन् , त्यस्तो धर्तीपुत्र जो दल भन्दा पनि माथिको सोच्ने होस् । हुन त सिके राउत जीले धर्तीपुत्र भन्दै शीवचन्द्र कुशवाहालाई लिएर आउनु भएको छ , तर शीवचन्द्र जी एक पटक सांसद बनिसक्नुभएको छ , तर उहाले गरेका गतिविधी र व्यवहारबाट पनि जनता सन्तुष्ट छैनन् , रुष्ट नै छन् । त्यसैले उनिहरुका लागि अन्तिम विकल्प भनेको अरुण ज्ञवाली नै हो । त्यसका कारण म निक्कै उत्साहित छु ।

त्यसोभए जित्ने तपाई नै हो र ? अनि तपाईको प्रतिस्पर्धा कोसंग हुन्छ त ?

अहिलेको लडाइ भनेको अरुण ज्ञवाली र जनमतका शीवचन्द्र कुशवाहा बिच नै हुन्छ । जसपाका उपेन्द्र यादव प्रतिस्पर्धाको रेसमै छैनन् । सम्भवत उनि तेश्रो या चौथो नम्बरमा पुग्छन् होला ।

जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव , जसलाई पाँच दलको पनि समर्थन छ ,विगतको चुनावी अंकगणितमा उहाको जित सहजै देखिन्छ , अनि उहाँ प्रतिस्पर्धामै हुनुहुन्न भनेर भन्नु हास्यास्पद भएन र ?

हेर्नुसु स्थानीय निर्वाचनको कुरा गर्ने हो भने यो क्षेत्रमा पर्ने ५ वटै पालिकामा गरि काँग्रेसको २१ हजार भोट थियो , जसपाले १८ हजार भोट पाएको थियो , माओवादी र लोसपाले ५÷५ हजार भोट ल्याएका थिए । अहिले गठबन्धनमा रहेका यी दलहरुको त्यतिबेलाको भोट जोड्दा ५० हजार पुग्छ । त्यसपछि गत संसदीय निर्वाचनको कुरा गर्ने हो भने जसपा र उसका बागी दुइ उम्मेदवार रामकिशोर यादव र रोशन यादवको मात्रै मत जोड्दा करिब ३५ हजार पुगेको थियो । त्यसो भए अहिले जसपाका उम्मेदवार उपेन्द्र यादव जीलाई अहिले नै जितको माला लगाइदिए भैगो नि त । यदि सहजै जितिरहनु भएको छ भने उपेन्द्र जी किन यति तनावमा हुनुहुन्छ ? उहाको अनुहारमा किन यति धेरै व्याकुलता छ ? पाँचै दलका शीर्ष नेताहरु यहा ओइरिएर घरघरमा धाइरहनु भएको छ ।के यो पराजयको संकेत होइन र ?

उपेन्द्र यादव त गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ , आफना उम्मेदवारलाई जिताउन नेताहरु चुनावी प्रचारमा आउनु अस्वभाविक हो र ?

सुन्नुस् एउटा कुरामा तपाइ पनि क्लियर हुनुस् यहाका जनता एउटा कुरामा दृढ र स्पष्ट छन् कि बाहिरबाट आएका उम्मेदवारलाई कुनैपनि हालतमा भोट दिदैनौ , जिताउदैनौ ।

तर बारा २ मै यसअघि पटक पटक यहाको मतदाता नभएकै नेताले जितेको इतिहास साक्षी छ त ?

विगतमा के भयो ? त्यसको रटान नगरौं , यसपालि भने बाहिरबाट आएर यहा उम्मेदवार बनेकाले जित्दैनन् , यो मेरो ठाकुवा हो । किनकि जनताले यहिको सक्षम धर्तीपूत्र खोजिरहेका छन् । मैले दिनहु गरिरहेका चुनावीसभामा जनताको भिड हेर्नुस् ,अरु उम्मेदवारको चुनावी कार्यक्रममा जनताको सहभागिता हेर्नुस् , आफै थाहा पाइ हाल्नुहुन्छ ।

अनि चुनावी कार्यक्रममा नाचगान हेर्न आएको भिड मतमा परिणत नै हुन्छ भन्ने ग्यारेन्टी कसरी गर्नु हुन्छ ?

मैले बिना आधार भनेको होइन तपाइ पहिला क्लीयर हुनुस् । गत मंसिर ४ को निर्वाचनमा पनि गठबन्धन थियो , जित्ने जसपाका रामसहाय यादवले साढे १३ हजार मत ल्याउदा म स्वतन्त्र लडेरै ८ हजार भन्दा बढि मत ल्याएको थियो । अहिले त म विकासप्रेमी नेतको छवि बनाएका प्रभु साह नेतृत्वको आम जनता पार्टीको उम्मेदवारका रुपमा उत्रिएको छु । हिजो स्वतन्त्र लड्दा ८ हजार भन्दाबढि मत ल्याएको अरुण ज्ञवालीले अहिले विकासप्रेमी पार्टीको उम्मेदवार बन्दा त्यसको तेब्बर मत नआउने कुरैछैन । जब बाक्सा खुल्छ अनि थाहा पाउनु होला मैले कति भोट पाउँछु ।

एकतिर उपेन्द्र यादवलाई जिताउन पाँच दलीय गठबन्धनका शीर्ष नेताहरु लगातार यहा आएर मतदातालाई रिझाइ रहेका छन् , अर्कोतिर मधेसमा नयाँ शक्तिका रुपमा उदाएको जनमत पार्टीका उम्मेदवार शीवचन्द्र कुशवाहालाई जिताउन अध्यक्ष सिके राउत स्वंय डेराडन्टा नै जमाएर बसिरहनुभएको छ । अनि जित्ने त मै हुँ भनेर तपाईले दाबी गरि रहनुभएको छ । यो त अलि नसुहाउँदो दाबी भएन र ?

एउटा कुरा के बुझनुस् भने बाराका मतदाता स्वतन्त्र छन् पार्टीको गाँठ (बन्धन) मा बाधिएका छैनन् । यो कुरा गत निर्वाचनको नतिजाले पनि पुष्टि गरिसकेको छ त । मंसिरमा भएको निर्वाचनमा तत्कालीन माओवादीबाट शीवचन्द्र कुशवाहा कांग्रेस सहितको गठबन्धनको उम्मेदवार हुनुहुन्थ्यो , तर उहाले १३ हजार भन्दा केहि बढि मत मात्रै पाउनुभयो , जबकि गत स्थानीय तहको निर्वाचनमा यी दुवै पार्टीको मत जोड्दा ३६ हजार पुगेको थियो । तर शीवचन्द्रले किन १३ हजार मात्रै मत पाउनुभयो त ? यस्तै मंसिर ४ को संसदीय निर्वाचनमा चुनाव जितेका जसपाका उम्मेदवार रामसहाय यादवले साढे १३ हजार मत मात्रै पाउनुभयो ।उहालाई एमालेले पनि समर्थन गरेको थियो । गत स्थानीय तहको निर्वाचनमा जसपा र एमालेले पाएको मत ३० हजार भन्दाबढि नै थियो । तर उहाले साढे १३ हजार मात्रै मत किन पाउनु भयो ? यसले के पुष्टि गर्छ भने गठबन्धन वा तालमेल पार्टी र तीनका शीर्ष नेताले गर्छन् जनताले गर्दैनन् । त्यसमा पनि बारा २ का जनता झन सचेत छन् , उनिहरु दलका नेताका दास होइनन् , मत आफुले चाहेको र रोजेको नेतालाई नै हाल्छन् । त्यसका कारण गठबन्धन गर्दैमा चुनाव जितिहालिन्छ भनेर कसैले सोच्छ भने त्यो उसको मुर्खता हुनेछ ।

 

तपाई कांग्रेस पृष्ठभूमीको मान्छे , त्यसका कारण गठबन्धनबाट असन्तुष्ट कांग्रेसका कार्यकर्ता , समर्थक र शुभचिन्तकको मत मैले नै पाउछु भन्ने तपाईको विश्वास हो ?

मैले पाउने त्यो मत पनि हो । हुन त शेरबहादुर देउवाको ठाडो निर्देशनमा बारा २ मा कांग्रेसले गठबन्धन गरेर जसपालाई समर्थन गरेको छ । यसबाट यस क्षेत्रका कांग्रेसी कार्यकर्ता र शुभचिन्तक मात्रै असन्तुष्ट छैनन् , यस क्षेत्रमा वर्षौदेखि सकृय राजनीति गर्दै आएका कांग्रेसी नेताहरु पनि भित्रभित्रै असन्तुष्ट र आक्रोशित छन् । त्यसैपनि यो क्षेत्रमा कांग्रेसको पकड निक्कै मजबुत मानिन्छ । यस्तो अवस्थामा शेर बहादुरले भन्दैमा ती कांग्रेसी नेताहरुले जसपा वा अरु पार्टीका नेतालाई जिताएर आउने यसपछिको आउने निर्वाचनमा राजनीतिक आत्महत्या गर्न तयार हुन्छन् त ? अघि मैले शुरुमा भने नि साइलेन्ट भोट , हो त्यो साइलेन्ट भोट भनेकै यिनिहरु हुन् ।

आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीलाई बारा २ का जनताले मत दिएर किन जिताउने ? तपाईका चुनावी एजेण्डाहरु के के हुन् जनताका लागि ?

मेरो चुनावी एजेण्डा भनेको पहिलो सडक पुर्वाधारको विकास र विस्तार गर्नु हो । कबहीगोठ भन्सार खुलाउदै त्यहाबाट उत्तरीभेगको जंगलसम्मको सडक कालोपत्रे गरेर राजमार्गका रुपमा स्तरोन्नत्ती गर्ने , यस क्षेत्रमा रहेका थलही र सुखलही कच्ची बाँधलाई पक्की बनाएर किसानको खेतखेत सम्म सिंचाइ पुरयाउने । सामुदायिक विधालय र स्वास्थ्य संस्थाहरुको पुर्वाधार सुधार्ने र सेवालाई सहज बनाउने । किसानका समस्यालाई सम्बोधन गर्न सदनमा सशक्त आवाज उठाउने ।यसबाहेक यस क्षेत्रमा रोजगारी सृजनाका लागि नीति निर्माणको तहमै भूमीका खेल्नेछु । यस क्षेत्रका जनता माझ अरु उम्मेदवारको भन्दा मेरो छवि पृथक छ । किनकि मंसिर ४ मा मैले चुनाव हारेपनि जनताको समस्या र दुखपिडामा साथमै रहे । म क्षेत्र छाडेर भागिन । यसक्षेत्रको विकास र रोजगारीका लागि सकेजतिको काम गरिरहे ।

एउटा हल्ला के सुनिदैछ भने चुनाव हार्ने अवस्था भयो भने अन्तिम समयमा अरुण ज्ञवालीले अन्य उम्मेदवारलाई समर्थन गरिदिन्छन्र ? के यो सत्य हो ?

तपाइले उल्टो सुन्नुभएछ । बैशाख ७ गते अन्य केहि उम्मेदवारले मलाई समर्थन गर्न सक्ने सम्भावना छ । मैले अरुलाई होइन बरु मलाई अरु उम्मेदवारले समर्थन गर्छन् । यसका लागि एक चरणको वार्ता भइसकेको छ । तर ती उम्मेदवारहरुको नाम अहिले म भन्दिन , ७ गते तपाइहरुले थाहा पाइ हाल्नु हुन्छ ।

Related posts

सरकारलाई दिएको समर्थन जसपा नेपालले फिर्ता लियो

MadhesKhabar

रास्वपाले सरकार बनेको सय दिनमा सहकारीको बचत रकम फिर्ता गर्ने

MadhesKhabar

पार्टी फुटाएको विरुद्ध उपेन्द्र यादवले दिए सर्वोच्च अदालतमा रिट

MadhesKhabar

Leave a Comment