Madhes Khabar
मधेस प्रदेश

मधेस आन्दोलन र जनयुद्धका सहिद परिवारलाई १–१ लाख रुपैयाँ दिएर सम्मान

जनकपुर , १ फागुन : सरकारले घोषणा गरेको ’जनयुद्ध दिवस’ को अवसरमा मधेस प्रदेशमा माओवादी सशस्त्र विद्रोह र मधेस आन्दोलनको क्रममा मारिएका ५ सय ४० व्यक्तिहरूको परिवारलाई जनही १–१ लाख रुपैयाँ तथा दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

सोमबार जनकपुरमा मधेसी सहिद प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले सहिद परिवारलाई सम्मान गरेका हुन् । माओवादी सशस्त्र विद्रोहको क्रममा माओवादीको तर्फबाट मधेसमा पहिलो सहिद बनेका धनुषा बरमझियाका मास्सैब भनिने रामवृक्ष यादवकी छोरी सुधा यादवलाई उपराष्ट्रपति पुनले दोसल्ला ओढाएर सम्मान गर्नुका साथै एक लाख राशिको चेक हस्तान्तरण गरेका थिए ।

बाँकी सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिए पनि १ लाख राशिको चेक भने उनीहरुको बैंक खातामा पठाइने प्रतिष्ठानका प्रमुख एवं मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री शत्रुघ्न प्रसाद सिंहले जानकारी दिएका थिए ।

कार्यक्रममा मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयता विरोधी अभिव्यक्ति दिने दलका नेताहरुलाई संघीयता विरोधी अभिव्यक्ति नदिन चेतावनी दिए । उनले भने, ‘संघीयता भिख मागेको होइन , यसको प्राप्तिको लागि मधेसले ठूलो बलिदान दिएको छ , जबसम्म मधेसी रहन्छन् संघीयतालाई कसैले मास्न सक्दैन ।’

मुख्यमन्त्री यादवले संघीय सरकारले प्रदेशहरुलाई अधिकार दिन नचाहेको गुनासो गरे । संघीय सरकारले प्रहरी र निजामती कर्मचारी समायोजन तथा नागरिकता लगायत समस्याको समाधान गर्न नचाहेको उनको भनाइ थियो । ‘प्रहरी प्रशासनबिनाको सरकारले कसरी शान्ति सुरक्षा दिन सक्छ ? कर्मचारीबिनाको सरकारले कसरी कामकाज गर्छ ?’ उनको प्रश्न थियो ।

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले जनयुद्धको मर्म अनुसार मुलुक चल्न नसकेको भन्दै दुःख व्यक्त गरे । ‘शानदार र बलिदानीपूर्ण इतिहास बोकेको माओवादी केन्द्रले अचेल जनयुद्धको बाटो बिराएको छ,’ उनले भने ।

मधेसी सहिद प्रतिष्ठानका अध्यक्ष गृह तथा सञ्चार मन्त्री शत्रुघ्न प्रसाद सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई प्रदेश प्रमुख हरिशंकर मिश्र, माओवादी केन्द्रका संसदीय दलका नेता भरत साहलगायत वक्ताहरुले पनि सम्बोधन गरेका थिए । साभार : कान्तिपुर

Related posts

४० के.जी. लागु औषध गाँजासहित २ जना पक्राउ ।

MadhesKhabar

सप्तरीमा गाेली हानेर पुजारीकाे हत्या

MadhesKhabar

प्रदेश सभा सदस्य एंव जसपा नेतृ यादवको निधन

MadhesKhabar

Leave a Comment