वीरगन्ज ,११माघ : वीरगन्जमा वीरगन्ज युवा च्याम्प्स क्लबले आयोजना गरेको चौथो इन्टर कलेज प्लस २ नकआउट क्रिकेट प्रतियोगिताको उपाधि ग्लोबल बिजनेस कलेजले जितेको छ ।
बुधबार भएकाे फाइनल खेलमा नेशनल ईन्फोटेक कलेजलाई ५ विकेटले पराजित गर्दै ग्लोबल बिजनेस कलेजले उपाधि जितेको हो ।
नारायणी क्रिकेट रंगशालामा भएको इन्टर कलेज प्लस २ नकआउट क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा टस जितेर नेशनल ईन्फोटेक कलेजले ब्याटिङ रोजेको थियो ।
उसले १६.४ ओभरमा सबै बिकेट गुमाएर १ सय ३ रनको योगफल तयार पारेको थियो । नेशनल ईन्फोटेकका लागि वासिम अली मन्सुरी र राहुल हक अन्सारीले उत्कृष्ट प्रदर्शन गरे । वासिमले २३ बलमा २ चौका प्रहार गर्दै २४ रन बनाए भने राहुलले २५ बलको सामना गर्दै २ चौकाको मद्दतमा २१ रन बनाए ।
१०४ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको ग्लोबल बिजनेस कलेजले १७ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टाउन सफल भएको थियो । ग्लोबल बिजनेस कलेजका लागि मन्थन यादवले उत्कृष्ट प्रदर्शन गर्दै ३ चौका र दुई छाक्का सहित ३९ रन बनाए ।
ग्लाेबल बिजनेस कलेजका लागि उपाधि दिलाउन महत्वपूर्ण योगदान दिएका मन्थन यादव प्लेयर अफ द म्याच घोषित भएको आयोजक वीरगन्ज युवा च्याम्प्स क्लबका रामजी राजा अन्सारीले जानकारी दिए ।
बिजेता, उपबिजेता र उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।साभार:अनलाइनखबर

