मधेसखबर
वीरगन्ज ,१८पुस :अत्याधिक चिसो बढ्नुका साथै शीतलहर समेत चल्न थालेपछि पर्सामा पालिकाहरुले विद्यालयमा विदा दिन थालेका छन् ।
पाेखरिया नगरपालिकाले साेमबार देखि नै विद्यालय बन्द गरेकाे छ। पाेखरिया नगरपालिकाकाे कार्यालयले साेमबार एक सार्वजनिक सुचना जारि गरेर पालिकामा रहेका विद्यालयहरुमा साेमबार देखि शुक्रबार सम्म पाँच दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख विजय झाले जनाएका छन् ।
यस्तै वीरगन्ज महानगरपालिकाले पनि महानगरमा रहेका सामुदायिक र संस्थागत विद्यालयहरु मङ्गलबार देखि शुक्रबार सम्म बन्द रहने जनाएको छ ।
साेमबार महानगरपालिकाले जारी गरेकाे सुचनामा प्रतिकुल माैसमका कारण बालबालिकालाई पठनपाठनमा असहजता भएकाले हिउँदे विदामा कट्टा हुने गरि पुस १९ गते मङ्गलबार देखि पुस २२ गते शुक्रबार सम्मका लागि विद्यालयहरुमा पठनपाठन स्थगित गर्ने निर्णय गरिएको उल्लेख छ ।
यसैगरि पर्साकै जिराभवानी गाउँपालिकाले पनि चिसो बढेकोले चार दिन बिदा दिने निर्णय गरेको छ।गाउँपालिकाका शिक्षा अधिकृत शिवराज फुयालले पालिकाभित्रका संस्थागत, मदरसा तथा सामुदायिक विद्यालयहरुलाई आगामी शुक्रबारसम्म विदा दिन अनुरोध गरेका छन् ।
साेमबार वीरगन्ज र यस आसपासकाे अधिकतम तापक्रम २२ र न्युनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएकाे छ ।

