Madhes Khabar
कृषि हेडलाइन

वीरगन्ज कृषि औजार कारखानाका ५४ मध्ये ४३ वटा मेसिन ‘चल्ने अवस्थामा’

वीरगन्ज, २२ कार्तिक : वीरगन्ज स्थित कृषि औजार कारखानाका ५४ वटा मध्ये ४३ वटा मेसिन चल्ने अवस्थामा रहेको पाइएको छ । सरकारले दुइ दशक देखि बन्द रहेको कृषि औजार कारखानाको सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको छ ।

केन्द्रले पहिलो चरणको सरसफाइ र मर्मत सम्भारको काम सम्पन्न गरेको छ । पहिलो चरणको कामपछि प्राप्त प्रारम्भिक प्रतिवेदन अनुसार कारखानामा ५४ वटा मेसिन रहेकोमा ४३ वटा मेसिन चल्ने अवस्थामा रहेको केन्द्रका सञ्चालक महावीर पुनले जानकारी दिएका हुन् ।

उनका अनुसार यी मेसिनलाई मर्मत गर्दा चल्ने अवस्था देखिएको हो । यद्दपि यी मेसिनबाट मात्र कारखाना भने नचल्ने समेत उनले उल्लेख गरेका छन् । यी औजार पुरानो प्रविधिका रहेको र यसको क्षमता समेत कम हुने उनको भनाइ छ । कारखानालाई पूर्ण रुपमा चलाउन अत्याधुनिक प्रविधि भित्राउनु पर्ने उनले उल्लेख गरेका छन् । यसका लागि नेपाल सरकारसँग अपेक्षा गरिएको उनको भनाइ छ ।

सरकारले १० वर्षका लागि कारखाना केन्द्रको जिम्मा लगाएको छ । ३१ भदौको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको थियो । सोही अनुसार केन्द्रले कारखानामा सरसफाइ तथा उपकरणहरुको चेकजाँच थालेको हो । अर्थ मन्त्रालय र केन्द्रबीच भएको सम्झौता अनुसार मेसिनरी औजार थप गर्न आवश्यक रकम समेत कारखाना सञ्चालक समितिको सिफारिसका आधारमा नेपाल सरकार, अर्थ मन्त्रालयले बजेट उपलब्ध गराउने छ ।

केन्द्रले आधुनिक कृषि औजार उत्पादन र बिक्रीको जिम्मा पाएको छ । बिक्री वितरणबाट प्राप्त भएको रकम कारखानाको सञ्चालन तथा स्तरोन्नतिमा खर्च गर्ने गरी कोषमा राख्ने र बाँकी ५० प्रतिशत नेपाल सरकारको राजस्व खातामा राख्ने गरी सहमति भएको छ ।

सञ्चालनको जिम्मा लिएको राष्ट्रिय आविष्कार केन्द्रले प्राप्त सम्पूर्ण भौतिक सम्पत्ति, जायजेथाको रक्षा गर्ने र संरक्षण गर्ने दायित्व पुरा गर्नु पर्नेछ । कारखाना करिब तीन दशकदेखि बन्द रहेको थियो । सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमा बन्द तथा रुग्ण रहेका कारखाना पुनः सञ्चालनमा ल्याउने घोषणा गरेको थियो । सोही अनुसार कारखाना सञ्चालन प्रक्रियामा अगाडि बढेको हो ।

कारखानाको सरसफाइमा विभिन्न संघ संस्था तथा व्यक्तिले स्वतस्फूर्त सहयोग समेत गरेका छन् । २०२३ सालमा शिलान्यास भएको यो कारखाना २०५९ सालमा खारेजीमा परेको थियो । कारखाना परिसर भित्र मुल कारखाना भवनसहित प्रशासकीय भवन, स्टोर भवन, वर्कसप, बिक्री प्रदर्शन कक्ष भवन तथा सुरक्षा भवन रहेका छन् । साभार : अनलाइनखबर

 

Related posts

पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा वीरगन्जमा प्रदर्शन

MadhesKhabar

जीतपुर सिमरा उपमहानगरमा पहिलोपटक विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य सेवा सुरु

MadhesKhabar

पर्साको पोखरिया मालपोत कार्यालयबाट तीन जना बिचौलीया पक्राउ

MadhesKhabar

Leave a Comment