Madhes Khabar
समाज हेडलाइन

ठोरीवासीको पिडा : १ सय ५० परिवारका लागि एउटा मात्रै धारा

पर्साको ठोरी–३ ब्रह्मानगरका बासिन्दा खानेपानीबारे छलफल गर्दै । तस्बिर : कान्तिपुर

मधेसखबर
वीरगन्ज,०३ कातिक : पर्सामा एउटा यस्तो गाँउ छ जहाँ १ सय ५० घरधुरीका लागि खानेपानीको जोहो गर्ने एउटा मात्रै धारा छ । त्यही धारोमा पनि साँझ ५ देखि ६ बजेसम्म एक घण्टा मात्र पानी आउँछ । त्यसैले सबै घरधुरीले धीत मर्ने गरी पिउने पानी समेत संकलन गर्न पाउँदैनन्  ।

अन्य गाउँमा जस्तो बटुवाले पानी माग्दा वा घरमा आउने पाहुनालाई सहजै पानी दिन स्थानीय सक्दैनन् । आफैंलाई पानी नपुग्ने अवस्थामा बाँचिरहेका छन् ठोरी गाउँपालिका–३ ब्रह्मानगर टोलवासी । टोलमा रहेको एउटा समरसेवल पम्प चलाएर गाउँलेले खानेपानीको जोहो गर्छन्  ।

स्थानीय ४५ वर्षीय भरत श्रेष्ठले आफूले बाल्यकालदेखि नै यो पीडा भोग्दै आएको बताए । ‘चार वर्षअघिसम्म टोलमा रहेको एउटा पम्पको मोटर २ घण्टाका लागि चलाइन्थ्यो, अहिले मोटर जल्ने डरले स्थानीयको सहमतिमै १ घण्टा मात्र चलाइन्छ,’ उनले भने, ‘१ सय ५० घरधुरीले यो पम्पबाट १ घण्टामा कति पिउने पानी संकलन गर्न सक्छन् होला ?’

पम्पको व्यवस्थापन र सञ्चालन स्थानीयले आफ्नै साधनस्रोत जुटाएर गर्दै आएका छन् । उनले आफूहरूले वर्षौंदेखि टोलको खानेपानीको समस्या समाधान गर्न विभिन्न दलका नेताहरूलाई आग्रह गर्दै आए पनि पूरा नभएको गुनासो गरे । ‘नेताहरू फेरि भोट माग्न हाम्रो घरदैलो धाउन थालेका छन्,’ उनले भने, ‘हामीले एक स्वरमा पहिला टोलको खानेपानीको समस्या समाधान गर्नुस् अनि भोट माग्न आउनुस् वा जितेपछि अविलम्ब समस्या समाधानको प्रतिबद्धता जनाउनुस् भनी उम्मेदवारहरूलाई सचेत पारिरहेका छौं ।’

अर्का स्थानीय भरत विश्वकर्माले टोलमा १ सय ५० मिटर तलसम्म चापाकलको पाइप गाड्दा पनि पानी नआउने समस्या रहेको बताए । ‘यहाँको भौगोलिक बनोटको कारण सम्भवतः जमिनमुनि पानीको सतह निकै तल हुनुपर्छ,’ उनले भने, ‘अब हामी उधारो भोट दिँदैनौं, खानेपानीको समस्या समाधान गर्ने गतिलो प्रतिबद्धता उम्मेदवारबाट चाहन्छौं ।’ पिउने पानीका लागि पम्पको धारामा आश्रित रहे पनि आफूहरूको नुहाउने, लुगा धुनेलगायत दैनिकीदेखि वस्तुभाउलाई खुवाउने पानीका लागि अझै पनि कुलोकै भर पर्नुपरेको विश्वकर्मा बताउँछन्  ।

‘ओडार खोलाबाट ल्याएको कुलोको पानीमै पूर्ण निर्भर छौं,’ उनले भने, ‘त्यही कुलोको पानी पनि वर्षायाममा धमिलो हुने, वन्यजन्तुले फोहोर पार्ने समस्या छ ।’ खानेपानीको समस्या समाधान गर्न टोलमा कम्तीमा आधा दर्जन यस्ता पम्प जडान भइदिए राहत हुने उनले बताए । साभार : कान्तिपुर

Related posts

वीरगन्जको बसडिल्वामा दलितका लागि सामुदायिक भवन निर्माणको काम सुरु

MadhesKhabar

पर्साको जनता मावि बढनिहारमा भएको आर्थिक अनियमितता बारे अख्तियारको चासो

MadhesKhabar

सखुवा प्रसौनीमा आमाको दुध प्रतिस्थापन गर्ने वस्तुको विक्री र प्रयोग रोक्ने जनप्रतिनिधीहरुको प्रतिबद्धता

MadhesKhabar

Leave a Comment