
मधेसखबर
वीरगन्ज, २२ भदौं : सरकारले निर्वाचनको सम्मुखमा एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ । गृह मन्त्रालयले काठमाण्डौ उपत्यका लगायत महत्त्वपूर्ण जिल्लाका सीडीओहरूको सरुवा गरेको हो ।
गृह मन्त्रालय स्रोतका अनुसार काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा घनश्याम उपाध्यायलाइ लगिएको छ । उनी ललितपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिए । काठमाडौंका प्रजिअ गोविन्द रिजाल भने मन्त्रालयको कर्मचारी प्रशासन प्रमुखमा तानिएका छन् ।
कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई ललितपुर तानिएको छ भने मन्त्रालयको प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई कास्कीको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । जुम्लाकी प्रजिअ विजया कुमारी प्रसाईँ मन्त्रालय तानिएकी छन् भने जुम्लाको प्रजिअमा मुकेशकुमार केसरीको सरुवा भएको छ ।
दैलेखको प्रजिअमा गोगनबहादुर हमाललाई पठाइएको छ भने दैलेखका हरि प्याकुरेललाई बाँकेको सहायक प्रमुख जिल्ला अधिकारी बनाइएको छ । सूचना विभागको महानिर्देशक रहेका हमाल केही समयअघि गृह मन्त्रालयमा सरुवा भएका थिए ।
यस्तै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीलाई इलाका प्रशासन कार्यालय सिमरा सरुवा गरिएको छ भने पाँचथरका प्रजिअ सुरेश न्यौपानेलाई मन्त्रालय र पाँचथरको प्रजिअमा गणेश गैरेलाई पठाइएको छ ।
सङ्खुवासभाका प्रजिअ नुरहरी खतिवडालाई सप्तरीको प्रजिअमा, सप्तरीका प्रजिअ जनार्दन गौतमलाई उदयपुरको प्रजिअ र उदयपुरका वीरेन्द्र यादवलाई सङ्खुवासभाको प्रजिअमा सरुवा गरिएको छ ।

