
एजेन्सी, १२ भदौं : एसिया कप अन्तर्गत आइतबार भारत र पाकिस्तान बिचको खेल हुदैछ । समूह चरण अन्तर्गत आइतबार भारत र पाकिस्तान बीचकाो खेल हुन लागेकाो हो । यी दुइ बिचको खेल यूएईको दुबईमा नेपाली समय अनुसार बेलुकी m पौने ८ बजे देखि सुरु हुनेछ ।
भारत र पाकिस्तान बीचको खेल मैदानमा मात्र सीमित हुँदैन, दुई देश बीचको विवाद बीच प्रशंसकले पनि यसलाई प्रतिष्ठाको विषय बनाउने गरेका छन् ।दुवै देशका प्रशंसकहरुको प्रतिक्रिया र समर्थनलाई हेर्दा उनीहरुबीच खेल मात्रै देखिँदैन । त्यहाँ आक्रोश र बदलाको भाव प्रबल हुन्छ ।
विशेषगरी भारत र पाकिस्तानबीच राजनीतिक दुश्मनी र उग्र राष्ट्रवादले उनीहरूको प्रतिस्पर्धालाई प्रतिस्पर्धामा सीमित हुन दिँदैन । सीमाका साना भीडन्तदेखि राष्ट्रिय मुद्दासम्म दुश्मनी झेल्दैआएका यी दुई देश ७ दशक लामो इतिहासमा कहिल्यै एक ठाउँमा उभिन सकेका छैनन् । यस अन्तरालमा उनीहरुका दुश्मनी र बदला खेलमैदानमै प्रस्ट देखिन्छ ।
यद्यपि पछिल्ला केही वर्षका खेलमा भने दुई देशका खेलाडीबीच खेलभावना देखिने गरेको छ । केही दिनअघि मात्रै भारतका पूर्वकप्तान विराट कोहलीले पाकिस्तानी क्रिकेटर शाहिन अफ्रिदीको हाल सोधिरहेको दृश्यको प्रशंसा भइरहेको छ ।
चोटका कारण पाकिस्तानका अफ्रिदी एसिया कपबाहिर रहेका छन् । त्यस्तै इमाद वासिम पनि पाकिस्तानी टिमबाहिर रहेका छन् । भारतीय टिममा पनि बलर जसप्रित बुमराह र हर्षल पटेल टिम बाहिर रहेका छन् ।
सन् २०१३ यता भारत र पाकिस्तान १२ पटक आमनेसामने भएका छन् । त्यसमध्ये ४ वटा एसिया कपमा भेट भएको थियो । एसिया कपमा भएका प्रतिस्पर्धामध्ये भारतले ८ र पाकिस्तानले ५ वटा खेल जितेका छन् ।
आइतबारको खेलमा प्लेइङ ११ मा परे विराट कोहलीको सयौं टी–ट्वान्टी खेल हुनेछ । यस्तोमा उनी तीनवटै फर्म्याटका क्रिकेटमा सय खेल पूरा गर्ने खेलाडी हुनेछन् । यसअघि यो रेकर्ड न्युजिल्यान्डका रोस टेलरको नाममा रहेको छ ।
भारतसँग खेलमा पाकिस्तान गत वर्षको ट्वान्टी–२० विश्वकपको नतिजालाई लिएर उत्साहित देखिन्छ । समूह चरणमै पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । यो जितलाई पाकिस्तानले ठूलो जितका रूपमा समेत हेरेको थियो। त्यसअघि पाकिस्तानले भारतलाई एकदिवसीय र ट्वान्टी–२० विश्वकपमा हराउन सकेको थिएन ।
यसअघि शनिबार भएको एसिया कपको पहिलो खेलमा अफगानिस्तानले श्रीलंकालाई ८ विकेटले हराएको थियो। श्रीलंकाले दिएको १०६ रनको लक्ष्य अफगानिस्तानले १०.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो ।

