Madhes Khabar
हेडलाइन

रौतहटका मेयर सहित २१ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

मधेसखबर
वीरगन्ज,१२असार :राजस्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटका मेयर सहित २१ ज्ना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपाल राय यादव र तत्कालीन उपमेयर कान्ती देवी सहित २१ जना विरुद्ध भ्रष्टचार मुद्दा दायर गरेको हो । नदीजन्य वस्तुबाट प्राप्त राजस्व हिनामिनामा संलग्न भएको आरोपमा उनिहरु विरुद्ध करिब साढे १ करोड रुपैयाँ बिगो माग दाबी सहित विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

लालबकैया नदीबाट ढुंगा, गिटी र बालुवाको निकासी ठेक्काबाट प्राप्त राजस्व हिनामिना गरेको आरोपमा अख्तियारले आइतबार मेयर यादव, तत्कालीन उपमेयर कान्तीदेवी र प्रमुख प्रशासकीय अधिकृत सहित २१ विरुद्ध १ करोड ५३ लाख ५० हजार १ सय ९९ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

 

जिल्ला समन्वय समिति रौतहटको रोहवरमा बसेको बैठकबाट दुवै नगरपालिकाले संयुक्त रुपमा ढुंगा, गिट्टी र बालुवाको ठेक्का गर्ने र प्राप्त हुन आउने आयको फतुवा विजयपुर नगरपालिकाले ६० प्रतिशत र गुजरा नगरपालिकाले ४० प्रतिशत रकम बाँडफाँट गर्ने गरी सहमति भएको थियो ।तर, फतुवा विजयपुर नगरपालिकाले आर्थिक बर्ष २०७५÷०७६ को लाल बकैया नदीको ठेक्का कानुनविपरीत मिलेमतोमा नदीजन्य वस्तु बिक्री गर्न ठेकेदारलाई जिम्मा लगाएको थियो ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उक्त अनियमिततामा फतुवा विजयपुर नगरपालिकाका तत्कालीन र हालका मेयर यादवसहित तत्कालीन उपप्रमुख कान्ती देवी, वडा नंबर १ का तत्कालीन वडाध्यक्ष सञ्जय प्रसाद, २ नम्बर वडाका तत्कालीन वडाध्यक्ष भविछन राय यादव, वडा नंबर ३ का तत्कालीन वडाध्यक्ष दीपनारायण साह, वडा नम्बर ५ का तत्कालीन र हालका वडाध्यक्ष शेख एजाज अहमद, वडा नम्बर ६ का तत्कालीन वडाध्यक्ष हिरा राय यादव, ८ का तत्कालीन वडाध्यक्ष एवं हाल नगर कार्यपालिका सदस्य उमाशंकर साह कलवार, ९ का तत्कालीन वडाध्यक्ष दीपनारायण चौधरीविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर भएको हो ।

 

त्यस्तै वडा नंबर १० का तत्कालीन अध्यक्ष योगेन्द्रप्रसाद चौधरी, वडा नंबर ११ का तत्कालीन र हालका अध्यक्ष ज्ञानेन्द्र चौधरी, तत्कालीन नगर कार्यपालिका सदस्य लक्ष्मण साह कानु, सुन्दरी माझी, तत्कालीन सदस्य र हाल वडा नंबर ७ का वडा सदस्य जिरनी देवी, तत्कालीन नगर कार्यपालिका सदस्य फुलकुमारी देवी, सञ्जुदेवी जयसवाल, शशीकुमार साह र रवीन्द्रकुमार निधिविरुद्ध पनि मुद्दा दायर भएको छ ।

 

२०७५ पुस १५ मा लाल बकैया नदीको ठेक्का सम्बन्धमा भएको नगर कार्यपालिकाको बैठकको निर्णय कार्यान्वयन गराउन बेवास्ता गरेको, सबैभन्दा बढी बोलकबोल गर्ने बोलपत्रदाताले सम्झौता गर्न इन्कार गरेपछि दोस्रो बढी बोलकबोल गर्ने बोलपत्रदातालाई सम्झौता गर्न बोलाउने र पहिलो बढी बोलकबोल गर्ने बोलपत्रदाताको धरौटी जफत गर्नुपर्नेमा त्यसविपरीत मिलेमतोमा सम्झौता गरेको उजुरी अख्तियारमा परेको थियो ।

यसैगरी अख्तियारले फतुवा विजयपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सागरकुमार रोका, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोकुल ढुंगेल र निमित्त प्रमुख प्रशासकीय अधिकृत रन्जना साहलाई पनि प्रतिवादी बनाएर बिगो, कैद र जरिवाना मागदावीसहित मुद्दा दायर गरेको छ ।

जनप्रतिनिधि बाहेक तीन जना कर्मचारीको हकमा पनि अख्तियारले १ करोड ५३ लाख ५० हजार १ सय ९९ रुपैयाँ बिगो, कैद र जरिवाना माग दाबी लिएको छ । साभार : कान्तिपुरबाट

Related posts

अख्तियारमा देशभरिमै बढी उजुरी परेका १० स्थानीय तहमध्ये पर्साकाे छिपहरमाई गाँउपालिका पनि

MadhesKhabar

वीरगन्जमा प्रहरी जवानको हत्या प्रकरण : विवाहेतर प्रेम सम्बन्धका कारण योजना बनाएर हत्या

MadhesKhabar

जिल्ला प्रशासन कार्यालय पर्सामा मिटरब्याजी सम्बन्धी हालसम्म १ हजार उजुरी दर्ता

MadhesKhabar

Leave a Comment