Madhes Khabar
अर्थतन्‍त्र

राजश्व संकलनमा वीरगन्ज भन्सार सफल , सुख्खा बन्दरगाह भन्सार असफल

मधेसखबर
वीरगन्ज,०३असार : वीरगन्ज भन्सार कार्यालय, गत जेठ महिनामा राजस्व असुलीको लक्ष्य भेट्याउन सफल भएको छ ।

भन्सार विभागले जेठ महिनाका लागि १६ अर्ब ७५ करोड ६८ लाख ८५ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य दिएकोमा वीरगन्ज भन्सार कार्यालयले लक्ष्य भन्दा झण्डै सवा अर्ब बढि अर्थात १८ अर्ब ८ करोड ३७ लाख ४१ हजार रुपैयाँ संकलन गरेको हो । जुन मासिक लक्ष्यभन्दा ७ दशमलव ९१ प्रतिशतले बढी हो ।

वीरगन्ज भन्सारले जेठ महिनामा लक्ष्यभन्दा बढी राजस्व असुल गर्न सफल भएपछि समग्र वार्षिक लक्ष्य भेटाएको हो । चालु आर्थिक वर्षको पछिल्लो ५ महिनामा मासिक राजस्व लक्ष्य भेटाउन वीरगन्ज भन्सार कार्यालय असफल भएको थियो ।

चालु आर्थिक वर्षको साउन देखि जेठ मसान्त सम्म ११ महिनाको अवधीमा १ खर्ब ८५ अर्ब ६१ करोड ९५ लाख १९ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य पाएको वीरगन्ज भन्सारले यस अवधिमा लक्ष्यभन्दा १ दशमलव ७० प्रतिशत बढी अर्थात १ खर्ब ८८ अर्ब ७८ करोड ६४ लाख १० हजार रुपैयाँ राजस्व असुली गरेको छ ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेललले जेठ महिनाको अन्तिम समयमा इन्धन र सवारी साधनबाट राम्रो राजस्व आएपछि लक्ष्य भेटाउन सफलता मिलेको बताए । ‘जेठ महिनाको अन्त्यतिर रक्सौल अमलेखगन्ज पाइपलाइनबाट तेल धेरै आउँदा राजश्व पनि राम्रो उठ्यो,’ उनले भने, ‘केही नयाँ सवारी साधन पनि जाँचपास भएपछि त्यसको सकारात्मक नतिजा आएको हो ।’

सुख्खा बन्दरगाह भन्सार असफल

तर वीरगन्जमै रहेको सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय भने जेठ महिनामा मासिक राजस्व लक्ष्य भेटाउन असफल भएको छ । जेठ महिनामा ४ अर्ब ५१ करोड ९४ लाख ४८ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य पाएकोमा सुख्खा बन्दरगाह भन्सारले लक्ष्य भन्दा ५ प्रतिशत कम अर्थात ४ अर्ब २९ करोड ८५ लाख ८७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

मासिक राजस्व असुली कमजोर भएपछि सिर्सिया भन्सार कार्यालयले चालु आर्थिक वर्षको जेठसम्म पाएको राजश्व असुलीको लक्ष्य पनि भेटाउन असफल भएको छ । साउन देखि जेठसम्म ११ महिनाको अवधीमा सुख्खा बन्दरगाह भन्सारले ४७ अर्ब ५२ करोड ४७ लाख ४० हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएकोमा ९७ दशमलव १० प्रतिशत अर्थात ४६ अर्ब १४ करोड ८४ लाख ६४ हजार रुपैयाँ असुली गरेको छ ।

सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष न्यौपानेले जेठ महिनामा राजस्व लक्ष्य भेटाउन नसक्नुमा सरकारले बिलासिताका वस्तु आयातमा लगाएको रोक तथा अन्य वस्तुमा गरिएको कडाइ मुख्य कारण रहेको बताए । ‘आयात नै कम भएपछि त्यसको असर राजस्वमा पर्नु स्वाभाविक हो,’ उनले भने, ‘त्यसमाथि एलसी खोलेर आयात भएका मालवस्तुमा पनि मार्जिन राख्न वाणिज्य बैंकहरुले दबाब दिएपछि आयातकर्ताले बन्दरगाहसम्म ल्याएर पनि जाँचपास गराउन सकेका छैनन् ।’

Related posts

घट्याे सुनकाे भाउ

MadhesKhabar

वीरगन्जको दैनिक बचत सहकारीविरुद्ध प्रशासनमा उजुरी, करोडौँ रकम फिर्ता नगरेको आरोप

MadhesKhabar

भन्सारमा रोकिएका ९ सय नयाँ गाडीको अब जाँचपास हुने

MadhesKhabar

Leave a Comment