
मधेसखबर
वीरगन्ज,२१जेठ :आईसीसी १९ वर्षमुनिको महिला टी–ट्वान्टी विश्व कप एसिया छनोटको दोस्रो खेलमा नेपालले लाजस्पद पराजय व्यवहोरेको छ ।
शनिबार भएको खेलमा नेपाल यूएईसँग १० विकेटले पराजित भएको हो ।जितका लागि पाएको ९ रनको मात्रै झिनो लक्ष्य यूएईले एक ओभर १ बलमै भेट्टाएको हो । यूएईकी थीर्थ सतिश ४ बलमा ४ रन र लवन्य केनी ४ बलमा ३ रनमा अविजित रहिन् ।
त्यसअघि मलेसियाको यूकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ८ ओभर १ बलमा ८ रनमै अलआउट भएको थियो । नेपालकी स्नेहा महराले १० बलमा सर्वाधिक तीन रन बनाइन् ।
ओपनर मनिषा रानाले २, किरण कुमारी कुँवर, अनु कडायत र अश्मा पुलामी मगर १/१ रनमा आउट भए । नेपालका ६ खेलाडीले खाता नै खोल्न सकेनन् । यूएईकी महिका गौरले ५, इन्धुजा नन्दका कुमारले ३ र सिमराले १ विकेट लिइन् ।
नेपालले पहिलो खेलमा भने कतारलाई ७९ रनले हराएको थियो । यूएईले भुटानलाई १ सय ६० रनले पराजित गरेको थियो । ६ टोली सहभागी छनोटमा शीर्ष टोलीले आउँदो वर्ष दक्षिण अफ्रिकामा हुने १९ वर्षमुनिको महिला विश्व कप खेल्न पाउनेछ । नेपालले तेस्रो खेलमा सोमवार भुटानसँग खेल्नेछ ।

