
मधेसखबर
वीरगन्ज,१६जेठ : वीरगन्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहले जनतालाइ सर्वोपरी मानेर काम गर्न कर्मचारीहरुलाइ निर्देशन दिएका छन् ।
सोमबार महानगरपालिकाको सभाकक्षमा महानगरका ३२ वटै वडा कार्यालयका सचिवलाइ बोलाएर छलफल गर्ने क्रममा मेयर सिंहले भने ,‘ जनतलाइ सर्वोपरी मानेर काम गर्नु होला , जनताको गुनासो सम्बोधन गर्नु होला ।
वडा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको काम गर्ने क्रममा यदि कोहिसंग कागजपत्र अपुग भए के–के नपुगेको हो सबै कागजको जानकारी दिएर एकैपटक मगाउन र बारबार दुख नदिन पनि वडा सचिवहरुलाइ मेयर सिंहले निर्देशन दिए ।
उनले भने ,‘ कागज पुगेको छैन भने के के कागज पुगेन राम्ररी सम्झाएर एकैपटक सबै कागज लिएर आउन भन्नु होला , न कि आज यो पुगेन भोलि त्यो पुगेन भनेर सेवाग्राहीलाइ झुलाउने र दुख दिने काम फिटिक्कै नगर्नु होला ।
वडा कार्यालयका सचिव काम विशेषले बाहिर जानु परेको अवस्थामा अर्काे विकल्प राखेर मात्र जान उनले वडा सचिवहरुलाइ निर्देशन दिए ।
महानगरका हरेक वडा कार्यालयमा सेवाग्राहीले प्रष्ट देख्ने र बुझने गरि नागरिक वडापत्र राख्न निर्देशन पनि मेयर सिंहले दिए । यसका साथै जनताको गुनासो सिधै मेयर सम्म पुग्ने गरि हरेक वडामा संयन्त्र निर्माण गर्न पनि उनले वडा सचिवहरुलाइ निर्देशन दिए ।
त्यस अवसरमा महानगरका उपमेयर इम्तियाज आलम , प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डे लगायतको पनि सहभागीता रहेको थियो ।

