मधेस खबर
वीरगन्ज,१४जेठ : ६ महिना अघि सम्म एक चक्की सिटामोलका लागि ७ किलो मिटरको दुरी धाउनु पर्ने पर्साको शीकारीवासीको मुहार अब भने फेरिदै गएको छ ।
पर्साको ठोरी गाँउपालिका वडा नम्बर ३ मा पर्ने जंगलको बिचमा रहेको मानववस्ती शीकारीवासमा ६ महिना अघि सम्म खानेपानी , स्वास्थ्य जस्ता आधारभुत सेवा समेत उपलब्ध थिएन । कक्षा ३ सम्म पढाइ हुने एउटा विद्यालय मात्र त्यहा राज्यको उपस्थितीका रुपमा थियो । तर ६ महिना पहिले गाँउपालिकाको बजेटबाट शीकारीवासमा खानेपानीको प्रबन्ध मिलाउनुका साथै आधारभुचत स्वास्थ्य केन्द्र पनि स्थापना गरि सन्चालनमा ल्याइएको छ । अब भने त्यहा ६ महिना पछि स्थानीयले बिजुली पनि बाल्न पाउने भएका छन् ।
बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र अन्तरगत सौर्य मिनिग्रीट सिस्टम मार्फत शिकारीवासका स्थानीयले अबको ६ देखि ७ महिना भित्रमा बिजुलीकोे सेवा पाइसक्ने ठोरी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष लाल बहादुर श्रेष्ठले बताएका हुन् ।
शनिबार शिकारीवासमै पुगेका गाउपालिका अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष गोकुली रेग्मी, वडा नंम्बर ३ का अध्यक्ष शम्भु खड्का, निर्माण कम्पनीका प्रतिनिधि लगायतको टोलीले शिकारीवासका बासिन्दासंग भेटघाट गरि बिद्युत योजना निर्माण सुरु भएकाले निर्माण पक्षलाई आवश्यक सहयोग गर्न गाउबासी संग आग्रह गरे ।
स्थानीयसंगको भेटघाटपछि विद्युत निर्माणको ठेक्का लिएको कम्पनीका इन्जिनियर सहित वडाध्यक्ष खड्काको टोलीले बिद्युत सिस्टमलाई राख्न आवश्यक पावरहाउस निर्माण स्थलको छनोट र आवश्यक अवलोकन पनि गरेको छ ।
सौर्य उर्जा मार्फत निर्माण हुन लागेको उक्त मिनिग्रीट , शिकारीबासकै २ वटा स्थानमा राखिने र पहिलो पावरहाउसबाट २० किलोवाट र दोश्रो पावरहाउसबाट ३ किलोवाट गरि कुल २३ किलोवाट बिद्युत उत्पादन गरिनेछ ।
उक्त बिद्युतबाट बत्ती, पंखा, फ्रीज सहित सानो कुटानी पिसानी मिल समेत संचालन गर्न सकिने निर्माण कम्पनीले जनाएको छ ।
कुल १ करोड ५९ लाख ११ हजार ९ सय १७ रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त योजनामा बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र ठोरी गाउँपालिकाको आर्थिक सहयोग रहेको छ ।
अबको ६ देखि ७ महिना भित्रमा योजना सम्पन्न भइ स्थानीय विद्युत सेवा उपभोग गर्न पाउने निर्माण कम्पनीको भनाई छ ।साभार : रेडियो विजयवस्तीको फेसबुक पेजबाट