
मधेसखबर
वीरगन्ज,१०जेठ :मधेस प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकाको मेयरमा सत्तागठबन्धनका साझा उम्मेदवार राजेशमान सिंह विजयी भएका छन् ।
महानगरका ३२ वटै वडाको मङगलबार बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार , मेयरमा गठबन्धनबाट जसपाका उम्मेदवार राजेशमान विजयी भएका हुन् ।
नेकपा एमालेका मेयरका उम्मेदवार एंव निवर्तमान मेयर विजय सरावगीलाइ २२ हजार ५ सय ४४ मतको फराकिलो अन्तरले पराजित गर्दै राजेशमान मेयरमा निर्वाचित भएका हुन् । बैशाख ३० को मतदानमा महानगरमा कूल ९३ हजार ७ सय ८२ मत खसेको थियो । मेयरमा विजयी राजेशमानले ४६ हजार २ सय १५ मत पाउदा एमालेका सरावगीले भने २३ हजार ६ सय ७१ मत पाएका छन् ।यस्तै मेयरमा राप्रपाका उम्मेदवार गिरिश गिरिले भने ३ हजार ३ सय १३ मत पाएका छन् ।
यसअघि २०७४ को निर्वाचनमा भने वीरगन्ज महानगरको मेयरमा तत्कलीन संघीय समाजवादी फोरम र हालको जसपाबाट उम्मेदवार बनेका विजय सरावगी निर्वाचित हुदा , तत्कालीन राजपाबाट उम्मेदवार बनेका राजेशमान १२ हजार १ सय ६५ मत का साथ तेश्रो स्थानमा सिमित भएका थिए ।
महानगरको उपमेयरमा पनि गठबन्धनकै साझा उम्मेदवार इम्तियाज आलम विजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धी लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झालाइ तेब्बर भन्दा बढि मत अन्तरले पराजित गर्दै गठबन्धनबाट काँग्रेसका उम्मेदवार आलम उपमेयरमा निर्वाचित भएका हुन् ।
उपमेयरमा विजयी भएका आलमले ३० हजार ७८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पुरुषोत्तमलाल झाले ९ हजार ५ सय ६८ मत पाएका छन् । आलमले झालाई २० हजार ५ सय १० मत अन्तरले पराजित गरेका हुन् । मेयर र उपमेयरमा एमाले र लोसपाले चुनावी तालमेल गरेका थिए ।

