
मधेसखबर
वीरगन्ज , २६ बैशाख :पर्सा क्षेत्र नम्बर ३ का निलम्बित सांसद हरिनारायण रौनियारलाई ,भ्रष्टाचार मुद्दामा विशेष अदालतले साढे तीन करोड रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।
रौनियारको कम्पनी पप्पु कन्स्ट्रक्सनले गुणस्तरहीन पुल बनाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा साढे तीन वर्षपछि फैसला सुनाउँदै विशेष अदालतले आइतबार उनी सहित उनका छोरा सुमित रौनियार (पप्पु)लाई दोषी ठहर गरी जरिवाना सुनाएको हो ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यद्वय यमुना भट्टराई तथा शालिग्राम कोइरालाको इजलासले रौनीयारको मुुद्दामा आंशिक ठहरको फैसला सुनाउँदै आठ जनालाई दोषी ठहराएको छ । चार जनालाई भने विशेष अदालतले सफाइ दिएको हो ।
विशेष अदालतका शाखा अधिकृत यज्ञराज रेग्मीका अनुसार निलम्बित सांसद रौनियार र उनका छोरा सुमितलाई जनही तीन करोड ६२ लाख २९ हजार रुपैयाँ जरिवानाको फैसला भएको छ । अन्य ६ जनालाई कैदसहित जरिवाना र चारजनालाई सफाइको फैसला भएको हो ।
बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणमा भ्रष्टाचार भएको अख्तियारको अभियोग थियो । पुल उद्घाटन नहुँदै भत्किएपछि आयोगले छानबिन गरी २०७५ साल असोज १९ गते मुद्दा दायर गरेको थियो ।
मुद्दाका प्रतिवादी रहेका कर्मचारीहरू मनोज श्रेष्ठ, भानु जोशी र राजेशकुमार यादवलाई जनही २५–२५ हजार रुपैयाँ जरिवानाका साथै आठ–आठ महिना कैद सजाय सुनाइएको शाखा अधिकृत रेग्मीले बताए । तीनैजना डिभिजन सडक कार्यालय नेपालगन्जका तत्कालीन डिभिजन प्रमुख हुन् ।
सफाइ पाउनेहरुमा भने गोविन्द गैरे, दीपेन्द्रबहादुर विष्ट, प्रेमप्रसाद चुवाई र कृष्णदेव यादव छन् । सफाइ पाउने गैरे र विष्ट सबइन्जिनियर हुन् । उनीहरूमाथि लगाइएको अभियोग दाबी सरकारी पक्षले पुष्टि गर्न नसकेकाले उनीहरूलाई सफाइ दिने आदेश सुनाइएको हो ।
हरिनारायण रौनीयार तत्कालीन संघीय समाजवादी फोरमका तर्फबाट पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । मुद्दा दायर भएसँगै उनी निलम्बनमा छन् । साभार :नयाँ पत्रिका

