Madhes Khabar
राष्ट्रिय

स्वास्थ्यमन्त्रीबाट संगीता मिश्रको नाम काटियो, आज ४ जना मन्त्रीलाई मात्रै शपथ गराइँदै

काठमाडौं,६असोजःडाक्टर संगीता कौशल मिश्र मन्त्री बन्ने सम्भावना तत्काललाई टरेको छ ।प्रधानमन्त्री सुशीला कार्कीले उनलाई स्वास्थ्य मन्त्री बनाउन चाहेपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अतिरिक्त सचिवका रुपमा कार्यरत रहँदा भ्रष्टचार लगायतका अनेक विवादका प्रसंग जोडिएपछि मिश्राको नाम काटिएको हो ।

अब आज(सोमबार) अपरान्ह मिश्रा बाहेक ४ जना मात्रै मन्त्रीको शपथ हुने भएको छ। आफूलाई जेन–जीको नेता दाबी गर्ने सुदन गुरुङसहितको विरोधका कारण डा. मिश्रको नाम अन्तिममा काटिएको हो ।

सोमबार दिउँसो उद्योग, कानुनमन्त्रीका रुपमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रीका रुपमा महावीर पुन, कृषि मन्त्रीका रुपमा मदन परियार र सञ्चार तथा सूचना प्रविधि मन्त्रीका रुपमा पत्रकार जगदीश खरेलले शपथ लिँदैछन् ।

नयाँ मन्त्रीहरूलाई दिउँसो २ बजे शीतल निवासमा शपथ गराउने तयारी थियो । तर संगीताको नाममा विवाद भएपछि दिउँसो ३ बजेका लागि सारिएको छ । सञ्चारमन्त्री हुन लागेका खरेल आफू कार्यरत ईमेज टेलिभिजनबाट बिदाइ कार्यक्रम राखेर बाहिरिइसकेका छन्।

मिश्रको नाम स्वास्थ्यमन्त्रीका लागि आइतबार फाइनल भएपनि जेन–जी युवाहरूले विगतमा भ्रष्टाचारसहितका मुद्दामा जोडिएकाले मन्त्री बनाउन नहुने अडान लिएका थिए ।

त्यहीकारण यसअगाडि स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिवका रुपमा कार्यरत मिश्रले मन्त्री पदमा जाने योजना करिब तुहिएको छ । यसअघि तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले विकास देवकोटालाई स्वास्थ्य सचिवमा नियुक्ति गरेपछि मिश्रा असन्तुष्ट थिइन्।

आफूभन्दा कनिष्ठलाई सचिव बनाएको भन्दै असन्तुष्ट उनी पौडेल मन्त्री हुन्जेल मन्त्रालयमा हाजिर भइनन् । बरू उनले ६ महिनासम्म बिदा बसेरै समय कटाइन् ।तर भदौ २३ गतेको आन्दोलनका क्रममा १९ जना जेन–जीको ज्यान गएपछि प्रदीप पौडेलले मन्त्री पदबाट राजीनामा दिएपछि मिश्रा मन्त्रालय फर्किएकी थिइन् ।मन्त्रालय फर्किएकी उनले स्वास्थ्यमन्त्रीमा नाम सिफारिस हुने खबरसँगै सरकारी जागिरबाट आइतबार मात्रै राजीनामा दिएकी थिइन् ।

यसअगाडि डाक्टर भगवान कोइराला र डा. सन्दुक रुइतले स्वास्थ्य मन्त्रालय लिन अस्वीकार गरेका थिए । त्यसपछि तेस्रो रोजाइमा मिश्रलाई स्वास्थ्यको जिम्मेवारी दिन लागिएको थियो । तर स्वास्थ्य मन्त्रालयममै हुँदा तत्कालीन मन्त्री मोहन बस्नेत मुछिएको अर्बौँ भ्रष्टाचार प्रकरणमा पनि उनको नाम जोडिएको थियो ।

कार्कीले मन्त्रीका लागि छनौट गरेका नाममा मिश्रा तत्कालीन स्वास्थ्यमन्त्री बस्नेतको पालामा भएको स्वास्थ्य सामग्री खरिद घोटाला प्रकरण लगायत प्रकरणमा जोडिएकी थिइन् । उता कानुन मन्त्रीमा प्रस्तावित सिन्हालाई संविधानमा नै न्यायाधीशलाई मन्त्री बन्नबाट रोकिएका कारण असंवैधानिक हुने भन्दै विकल्प सोच्न भनिएको थियो । तर सिन्हाको नाम शपथ लिने मन्त्रीको सूचीमा कायमै छ ।

उता प्रधानमन्त्री कार्कीले स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवबाट मन्त्री बन्नकै लागि राजीनामा दिएकी डा. मिश्रलाई शपथ खुवाउने निर्णय गरेपछि कांग्रेस छाडेर स्वतन्त्र भएका डा.अमरेशकुमार सिंहले प्रशंसा गरेका थिए । उनले बिचौलिया समूहले मिश्राविरुद्ध अनर्गल प्रचार गरेको दाबी गरेका थिए ।

प्रधानमन्त्री कार्कीले मिश्रासहित पाँचजनाको नाम नयाँ मन्त्रीको रुपमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आइतबार सिफारिस गरेकी थिइन् ।मिश्राको शैक्षिक योग्यतालगायत विषयमा सामाजिक सञ्जाल र सञ्चार माध्यममा प्रश्न उठेको थियो । तर सिंहले सामाजिक सञ्जालमा लेख्दै मिश्रा एक कुशल नेतृत्वकर्ता भएको बताएका थिए ।

उता प्रधानमन्त्री कार्कीले बनाएको कार्यदलले जेन–जीको भावनाअनुसार आएका विवादलाई हेरेर मिश्राको नाममा ब्याक हुन सुझाएको थियो । अनौपचारिक रहेको यो कार्यदलले क्याबिनेटको मन्त्री छान्नेदेखि निर्णय प्रक्रियामा पनि सहजीकरण गरिरहेको छ।साभार :खबरहब

Related posts

नेपाललाई प्लाष्टिक प्रदूषणमूक्त बनाउन प्रतिबद्ध छु : वनमन्त्री यादव

MadhesKhabar

वीरगन्जमा जेसिसकाे राष्ट्रिय सम्मेलन: १० जना उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित

MadhesKhabar

हेटाैंडा-काठमाडौं जाेड्ने तीनवटै सडक सञ्चालनमा

MadhesKhabar

Leave a Comment