
मधेसखबर
वीरगन्ज,२३ बैशाख : नेकपा एमालेका तर्फबाट वीरगन्ज महानगरको मेयरका उम्मेद्वार विजय कुमार सरावगीले महानगरमा रहेका इरिक्साहरुको समस्या समाधान गर्ने बताएका छन् ।
निवर्तमान मेयर समेत रहेका सरावगीले बैशाख ३ को निर्वाचनमा आफनो जित सुनिश्चित रहेकाले फेरि पनि नेतृत्वमा पुग्ने र इरिक्साहरुको समस्या समाधान गर्ने बताएका हुन् ।
शुक्रबार वीरगन्जको होटल कुमु प्यालेशको सभाहलमा आयोजित भेटघाट तथा अन्तरकृया कार्यक्रममा महानगरका इरिक्सा चालकहरुले आफना समस्या सुनाएपछि सरावगीले यस्तो बताएका हुन् ।
कार्यक्रममा करिब दुइ सयको संख्यामा सहभागी इरिक्सा चालक अगुवाहरुले ट्राफिक प्रहरीले अनावश्यक दुख दिने गरेको , रुटमा पनि समस्या रहेको , ठाँउ ठाँउमा व्यवस्थित पार्किङ नभएका कारणले आफुहरुले सास्ती खेपि रहेको बताएका थिए ।
मेयरका उम्मेदवार सरावगीले पहिलो कार्यालयकालमा पनि आफुले इरिक्साको व्यवस्थापनमा थुप्रै काम गरेको र अबको कार्यकालमा पनि अहिले विद्यमान समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।
एमालेसंग चुनावी तालमेल गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उपमेयर उम्मेदवार पुरुषोत्तम झाले पनि महानगरको अबको नेतृत्वमा आफुहरु पुग्ने र इरिक्सा चालकहरुको समस्या सबै सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।
त्यसैले महानगरका सम्पूर्ण इरिक्सा चालकहरुलाइ उनले मेयर र उपमेयरमा एमाले–लोसपाका उम्मेदवारलाइ मतदान गर्न उनले अपिल पनि गरे ।
कार्यक्रममा इरिक्सा चालक युनियनका अध्यक्ष नन्द किशोर , लोसपा नेता शशीकपुर मिया लगायतको पनि सहभागीता थियो ।

