
मधेसखबर
वीरगन्ज , २२ बैशाख
वीरगन्ज महानगरका निवर्तमान मेयर विजय कुमार सरावगी , फेरि दोश्रो पटक मेयरमा दोहोरिन चुनावी मैदानमा छन् । अघिल्लो पटक तत्कालीन संघीय समाजवादी फोरमबाट चुनाव लडेर जितेका सरावगी , यसपाली भने नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार बनेका छन् । २०७४ को निर्वाचन ताका उनले गरेका चुनावी प्रतिबद्धता कत्तिको पुरा भए ? अब यसपालि फेरि उनले के के वाचा गरिरहेका छन् ? यीनै सन्दर्भमा एमालेका मेयर उम्मेदवार विजय कुमार सरावगीसंग मधेसखबरले गरेको कुराकानी
२०७४ सालको चुनावमा तपाइले मेरो कसम शीर्षक दिएर चुनावी घोषणापत्र जारी गर्नुभएको थियो । चुनाव जित्नु पनि भयो । तपाइले त्यो बेलाको चुनावी घोषणा पत्र मेरो कसम भनेर गरेका सबै वाचाहरु पुरा गर्नु भयो त ?
उम्मेदवार बनेपछि जनताका बिचमा आफना भिजन र एजेण्डाहरु लिएर जानै पर्छ , मैले पनि त्यो बेला मेरो कसम भनेर केहि वाचाहरु गरेका थिए , समग्रमा भन्ने हो भने मेरो कसमका ८० प्रतिशत वाचाहरु पुरा गर्न सफल भएको छु । अब फेरि नेतृत्वमा आए पछि बाँकी २०प्रतिशत काम पुरा गर्छु नै । त्यस बेला २० प्रतिशत काम हुन नसकेका कारण २ वर्ष कोरोना माहामारीमै बित्यो , केहि समय ऐन कानुन बनाउनमा बित्यो । अर्को कारण म आउनु भन्दा पहिले वीरगन्ज महानगर ३६ करोडको ऋणमा थियो , आम्दानी भने वार्षिक १७ करोड मात्रै थियो , यसले पनि भने अनुसार गर्न सकिएन ।
अनि त्यो बेला तपाइलाइ थाहा थिएन कि वीरगन्ज महानगर यति धेरै ऋणमा थियो भनेर ?
त्यो बेला यो कुरा कसैले बताएनन् । विडम्बना के छ भने बक्यौताको रिकर्डीङ राख्ने परीपाटी अहिले पनि छैन । सातौ तहको ईन्जिनीयरले पुर्वाधार शाखा संचालन गरीरहेको अवस्था अझ पनि छन् । एक त आर्थिक अभाव , कर्मचारी अभाव र डीपिआर बनाउने सम्भावना पनि थिएन , कतिपय योजनाको डीपीआर नै थिएन भने कसरी गर्ने र अर्को महत्वपुर्ण काम कानुन नै बनेको थिएन । २ वर्ष यी सबै कुरा सुल्झाउनमा लाग्यो ,२ वर्ष कोरोना माहामारीमा वित्यो तर नगरपालिकाको कर्मचारीबाट नै महानगर चलाउने सम्भावना थिएन । तर बचेको एक वर्ष भन्दा पनि कम समयमा हुनुभन्दा बढी काम गरीएको छ जसमा मेरो सल्लाहकार र कर्मचारी सबैले साथ दिए ।
२०७४ को चुनावी घोषणापत्र मेरो कसममा मुख्य गरी मुख्य ५ ब ( बेराजगारीको अन्त्य , बाटो , विद्यालय , बिजुली र बैंक ) भनेर लेख्नु भएको थियो , के यी ५ ब पुरा भए त ?
५ मध्ये ४ ब बेरोजगारी , विजुली , बाटो र बिद्यालय लगायतमा काम गर्न सफल भएका छौँ । बेरोजगारी अन्त्यका सवालमा करीब ५ हजार जनालाई ब्युटीसियन , सिकर्मी , ईलेक्ट्रोनिक ,मोन्टेसरी , सुरक्षागार्ड , जेसीबी चलाउने लगायतका सिपमुलक तालिम दियौँ ।
तालिम मात्रै दिईयो की उनिहरुले काम पनि पाए ?
तालिम लिएका मध्ये केहिले रोजगारी पाएका छन् , केहि विदेश गएर पैसा कमाइरहेका छन्, कतिपयले आफ्नै बन्द व्यवसाय चलाएका छन् ।अरु थप , युवाहरुलाई महानगरले रकम खर्च गरेर उद्योगहरुमा तालिमका लागि पठाउने खालका नयाँ योजनामा काम गर्ने सोच पनि बनाएका थियौ तर कोरोनाका कारण त्यो काम गर्न सकिएन । अबको घोषणापत्रमा मजदुरलाई टार्गेट गरेर काम गराउने गरी तालिम दिने कुरा अगाडी बढाएका छौँ । बाहिरका मजदुरको साटो नेपाली मजदुरलाई प्राथमिकतामा उधोगहरुमा राख्न लगाउने उद्देश्य छ ।
पत्याउन समस्या भयो ,पाँच हजार जनालाई रोजगारी दिनुभयो भनेर ?
अहिले तालिम लिएका सबैले काम नै गर्छन् भन्ने होईन तर कामको तालिम लिएपछि धेरैले आफ्नो व्यवसाय , रोजगार पाएका छन् ।
अघिल्लो चुनावी घोषणा पत्र मेरो कसममा तपाइले वीरगन्जलाइ स्याटेलाईट सिटी बनाउने पनि भन्नुभएको थियो , वीरगन्ज स्याटेलाइट सिटी बन्यो त ?
वीरगन्जलाइ साच्चै भन्ने हो भने स्याटेलाईट सिटी बनाउन सकिएन । किन भने त्यसका लागि आवश्यक पर्याप्त रुपमा श्रोत साधन र अधिकार संघ सरकारले नै दिएन । महानगरमा पछि गाभिएका ग्रामीण भेगका १६ वटा वडा हाम्रो लागि चुनौती थियौँ । कुनै वडामा व्यवसायिक कृषि , कुनै वडामा औद्योगीक , कुनै वडामा ट्रान्सपोर्ट , कुनै वडामा वसोबासको क्षेत्र बनाउने योजना थियो । तर यसमा न त संघ न त प्रदेश सरकारले श्रोतसाधन दियो न त अधिकार नै दियो । हामीसंग भएका श्रोत साधनबाट नै धान्न पर्ने अवस्था थियो र अहिले पनि छ । वीरगंज महानगर आफ्ैमा ठुलो सहर हो तर अरु प्रदेशका महानगरको तुलनामा वीरगंजलाई संघ र प्रदेश सरकारले बजेट नै दिएन । हरेक कुराको अभावमा काम गर्नुपरयो । आधा बजेट आफैले व्यवस्थापन गर्ने र आधा बजेट राष्ट्रिय आयोजनाबाट प्राप्त हुदा काम गरयौँ ।कोरोना माहामारीको बेलामा समेत एक पैसा आर्थिक सहयोग गरेन संघ सरकारले । कोरोना महामारी व्यवस्थापनमा मात्रै महानगर आफैले १२ करोड भन्दा बढी रकम खर्च गरयो ।
सिर्सिया नदि, वीरगन्ज शहरको लाइफ लाइन हो , यो नदि दशकौं देखि अतिक्रमणको चपेटामा छ , दुर्गन्धित र प्रदुषित पनि छ , तपाइले अघिल्लो चुनावी घोषणा पत्रमा त नदिको अतिक्रमण हटाएर त्यसको पानी पिउन योग्य बनाईने , नदिको दुवै किनारमा वृक्षारोपण गरेर पार्क नै बनाउने र नदिमा बोट समेत चलाउने भनेर भन्नु भएको थियो त ?
सिधा जवाफ दिनु पर्दा यो काम गर्न सकेनौं नै भन्नु पर्छ र सकिदैन पनि । तर हामीले यसलाइ आवधिक योजनामा राखेका थियौँ , संघ सरकारलाई गुहारयौ । सिर्सिया नदिलाइ अतिक्रमण मुक्त बनाउन र त्यसलाइ सफा सुन्दर बनाउने योजनाका लागि करीब १० करोड रुपैया त डिपीआर बनाउन मात्रै लाग्छ । महानगरपालिकाको आन्तरीक आयबाट सयौ वर्षमा पनि यो सम्भव छैन । यसमा केन्द्र सरकारको ध्यान पुग्नुपर्ने छ । हामीले लेखेर आग्रह गर्यौ तर कसैले केही गरेनन् सुनेनन् । केन्द्र सरकारमा आफ्नै पार्टिका मन्त्रि हुदा पनि गुहारयौ , यहाका सांसदहरुलाइ पनि आग्रह गरयौ तर कतैबाट सहयोग पाईएन वीरगंजको हकमा । वीरगंजलाई जहिले पनि हेपेका छन् । यहीबाट उठ्ने राजश्ज अन्य जिल्लाको विकासमा खर्च गर्न सक्ने तर वीरगंजलाई वास्ता नगर्ने ? देशको कुल राजश्वको ४० प्रतिशत राजश्व वीरगन्जबाटै उठ्छ अनि यहिको विकास हुदैन । मधेस प्रदेशको मात्र नभइ देशका ठूला शहर मध्ये एक वीरगन्ज हो तर वीरगंजलाई जहिले पनि तल्लो नजरले हेर्ने गरेका छन् , चाहिएका बेला नेता मन्त्रि सासंद सबैले ठूला कुरा गर्छन् तर स्वार्थ पुरा भएपछि वीरगन्जका लागि केही पनि नगर्ने परीपाटी नै छ यहाँ । वीरगन्जसंग जहिले पनि अन्याय भएको छ। तर अबको निर्वाचनबाट केन्द्र र प्रदेश दुवै तहमा एमालेको सरकार बन्छ , एमाले सरकारले वीरगन्जलाइ विभेद गर्दैन , विकासको लहर ल्याउछ ।
तपाईले हरेक सामुदायिक विद्यालयमा डिजीटल प्रविधी र अङग्रेजी भाषा माध्यमबाट अध्यययन अध्यापन गराउने भनेर भन्नुभएको थियो , यो कति वटा विधालयमा लागु भयो त ?
हरेक विद्यालयमा सिसिटीभी र डिजीटल हाजीरी मेशीन जडान गरिएको छ । स्र्माट क्लास पनि सुरु भईसकेको छ । टिभी मार्फत पनि प्राथमिक विधालयमा विधार्थीहरुलाई पढाउने काम भएको छ । हरेक विद्यालयमा स्वच्छ पिउनेपानीको व्यवस्था गरीएको छ । यो वर्ष मात्रै शिक्षा क्षेत्रमा महानगरले २५ करोड रुपैया खर्च गरेको छ । कुल ९० मध्ये ५÷६ वटा बाहेक सबै विद्यालयमा अंग्रेजी र नेपाली दुवै माध्यमबाट पठनपाठन सुरु गराईएको छ ।
दलित र मुस्लिम बालिकालाई स्नातक सम्म निशुल्क शिक्षा दिने भनेर मेरो कसममा वाचा गर्नु भएको थियो , यो कसम पुरा गर्नु भयो त ?
१० कक्षा सम्म त निशुल्क नै छ । तर त्यो भन्दा माथिको उच्च शिक्षाका लागि महानगरले बालिका र किशोरीहरुलाइ छात्रवृति मार्फत सहयोग गर्दै आएको छ । मेयर कल्याणकारी कोषको स्थापना गरेको छु , सहयोग माग्न आएकालाइ त्यहि कोषबाट छात्रवृति स्वरुप नगद पनि सहयोग गरे ।
पर्यटन तथा पुर्वाधारको क्षेत्रमा वीरगंज बजार क्षेत्रमा ओभरब्रिज र चक्रपथ निर्माण गर्ने भन्नुभएको रहेछ चुनावी घोषणा पत्रमा । तर अहिले सम्म वीरगन्जमा कतै पनि ओभरब्रिज र चक्रपथ देखिदैन त ?
वीरगन्जमा तत्कालका लागि दुइ वटा ओभर ब्रिज तथा परवानीपुर देखी ड्राईपोर्ट सम्म चक्रपथ निर्माण गर्ने योजना छ ।दुवैका लागि डिपिआर तयार पनि भईसकेको छ ।यसका लागि भौतिक पुर्वाधार मन्त्रालयबाट बजेट माग गरेका छौ ।तर संघ सरकारले बजेट दिएको छैन । बजेट नै नपाएपछि कहाबाट पैसा ल्याउने ? काम कसरी गर्ने ? समस्या छ यसमा पनि ।
पछिल्लो पटक महानगरपालिकामा गाभिएका ग्रामीण भेगका वडाहरु सडक सन्जाल मार्फत मुख्य शहरसंग जोडिए त ?
साढे ४ वर्षको कार्यकालमा म आउनु भन्दा पहिला देखी चलिरहेका आयोजनाहरु पुरा गर्यौ । धेरै कच्ची सडक आफ्नै लगानीमा ढलान गरेर पक्की गरयौ । त्यसका साथै ४ सय करोड रुपैयाको एडीबी (एशीयाली विकास बैंक) को योजना पनि ग्रामीण भेगकै सडककै लागि माग गरेका छौँ । यद्यपी ग्रामीण भेगमा धेरै परिवर्तन भएको छ । राम्रो परिवर्तन भएको छ ।

