
माधुरी महत्तो
वीरगन्ज , २० बैशाख :मुस्लिम धर्मावलम्बीहरुले मङगलबार आफनो महान् चाड ईदउल फित्र (ईद) पर्ब मनाइरहेका छन् ।
एक महिना सम्म लगातार रोजा बसेका मुस्लिम धर्मावलम्बीले मङगलबार इर्द पर्ब मनाइरहेका हुन् ।
अरबी पात्रो हिजरी संवत अनुसार , मुस्लिम धर्ममा दशौं महिना (सौवाल) को पहिलो दिन मङगलबार विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा परिकार खान दिने चलन छ ।ईद पर्बका अवसरमा मुस्लिम धर्मावलम्बीले नयाँ कपडा लगाई साथीभाइकहाँ गएर ईदको शुभकामना आदानप्रदान गर्छन् ।

वीरगन्जमा पनि मुस्लिम धर्मावलम्बीको बाक्लो बस्ती रहेका छपकैया ,लाठगल्ली , मुर्ली , इनर्वा , रानीघाट , श्रीपुर लगायतका टोलमा मङगलबार बिहानै देखि ईद पर्बको चहल पहल देखिएको छ । यस्तै पर्सा र बाराका ग्रामीण भेगमा पनि मङगलबार हर्षोल्लाशका साथ ईद पर्ब मनाइदैछ ।
अरबी पात्रो अनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि ईदउल फित्र मनाउने कार्यक्रम तय हुने गरेको वीरगन्जका मौलाना नुरुल होदाले जानकारी दिए । नवौं महिनाको अन्तिम दिन बिहीबार बेलुका चन्द्रमा देखिएपछि आज ईदउल फित्र मनाइएको हो । खुसीपूर्वक दान गरेर दीनदुःखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई ईदउल फित्र भनिएको हो ।

इर्द पर्बको अर्को उल्लेखनीय पक्ष भनेको दीनदुःखी र गरिबलाई दान दिनु हो । यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्ष भित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख गरिएको मौलाना होदाले जानकारी दिए ।
यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखी एवं गरिबलाई बाँडिन्छ । जसलाई जकात भनिन्छ । ईदउल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा त्यस बराबरको नगद दान पनि गर्छन् । जसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम मुस्लिम ग्रन्थमा छ । यो दान पनि दीनदुःखी र गरिबलाई नै दिइन्छ ।
मुस्लिम समुदायको एक महिना लामो व्रत (रोजा) पूरा भएपछि इदुल फित्र पर्ब मनाइन्छ । एक वर्षभित्र गरेका पाप कटाउन रमजान समेत भनिने यो ब्रत गरिने उनले बताए । एक महिनासम्म दिनभर व्रत गरेर साँझ सूर्यास्तको नमाज पाठ गरिन्छ । बिहान सूर्योदय अघि र बेलुकी सूर्यास्तपछि मात्र मुस्लिम समुदायले नवौं रमजान महिनामा भोजन गर्छन् ।इर्द पर्बको अवसरमा संघ र मधेस प्रदेश सरकारले मङगलबार सार्वजनिक विदा दिएको छ ।

