काठमाडौं,८मंसिरः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूलाई पक्राउ गर्न आउँदा हतकडी लिएर आउन सरकारलाई चुनौती दिएका छन् । मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रैस केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले आफूविरुद्ध हुने अनुसन्धानमा सहयोग गर्ने बताउँदै कानुनानुसार अनुसन्धान र कारबाही गर्न सरकारलाई चुनौतीपनि दिए ।
उनले कांग्रेसले कुनै पनि अनुसन्धानमा अवरोध नगर्ने स्पष्ट पारे । आफू वा अरू जोसुकैविरुद्ध हुने अनुसन्धानमा पार्टीले अवरोध नगर्ने उनको भनाइ छ ।
तर, राज्यका संयन्त्रलाई सत्ताको अनुकूलतामा प्रयोग नगर्न उनले सरकारलाई चेतावनी दिए । राज्यका निकाय सत्य र न्यायका पक्षमा उभिनुपर्ने उनले बताए ।“नेपाली कांग्रेस कसैको अनुसन्धानमा अवरोध गर्दैन, मेरो अनुसन्धान होस् वा अरू कसैको,” उनले भने ।
सरकारका गलत कामको विरोध गर्नु आफ्नो राजनीतिक दायित्व भएको उनले उल्लेख गरे । उनले राजाको शासनकालदेखि नै आफूले राज्यका गलत कदमको विरोध गर्दै आएको स्मरण गरे ।
उनले आफू विगतमा पनि धम्की र मुद्दाको सामना गरेर अघि बढेको बताए । राजाको शासनकालमा आफूले एक्लै राजद्रोहको मुद्दा खेपेको र माओवादी द्वन्द्वका क्रममा पनि निकै दुःख पाएको उनको भनाइ थियो ।
कांग्रेस सहभागी केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारका गलत कामको समेत आफूले विरोध गरेको उनले सुनाए । थापाले व्यक्तिगत जीवनमै असर पर्ने गरी प्रश्न उठाउने र सामाजिक सञ्जालमार्फत भय सिर्जना गर्ने प्रयास भइरहेको टिप्पणी गरे ।
“व्यक्तिगत जीवनमा समेत प्रश्नका कारण समस्या आएको छ । तर, प्रश्न गर्न सुरु गरेको थिएँ, अडियो आयो । पक्राउ गर्न आउँदा खाली हात नआउनुहोला, हतकडी लिएर आउनुहोला । प्रश्न गर्न छोड्दिनँ, तर्साएर तर्सिने मान्छे होइन,” उनले भने ।
थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीको १५औँ महाधिवेशनपछि हालसम्म पाँचपटक भेट भएको जानकारी पनि दिए । प्रदेश सरकारको समीकरणका विषयमा ओलीसँग भेटघाट हुँदै आएको उनले बताए ।

