Madhes Khabar
राजनीति

बालेनलाई गगनको ठाडो चुनौती : ‘जताततै बर्बाद हुँदा गगन थापा चुप लागेर बस्दैन’

काठमाडौं,१९कात्तिकःनेपाली कांग्रेसका सभापति गगन थापाले इनम सापकोटाको विवादास्पद अपुष्ट अडियोपछि सरकारबारे पनि बोलेका छन् । आफूले कांग्रेसको आधिकारिकता प्राप्त गर्न कुनै आर्थिक चलखेल नगरेको दाबी थापाले गरेका छन् । आफू राजनीतिमा विधि र प्रणाली स्थापित गर्न लागेको भन्दै उनले लगाइएको आरोप पुष्टि गर्न पनि चुनौती दिए ।साथै, उनले प्रधानमन्त्री बालेन नेतृत्वको सरकारबारे पनि बोलेका छन् ।

गगनले सरकारको स्पष्ट म्यान्डेट पाँच वर्षको भएको स्वीकारे । तर, प्रश्न गर्नबाट कहिल्यै पछि नहट्ने प्रस्ट्याए ।
‘कुनै कुरा सरकारका बारेमा लुकेर गर्नुपर्ने नै छैन । जे गर्ने हो, खुला गर्ने हो । हामीले अस्ति पार्टी केन्द्रीय कार्यालयमा बकाइदा प्रेसहरूलाई बोलाएर खुला भनिसक्यौँ– यो सरकार पाँच वर्षका लागि आएको हो, फाइभ इयर्सको म्यान्डेट छ । त्यसलाई हामी सम्मान गर्छौं । तर, सरकारले राइट कुरामा फोकस गरोस्,’ थापाले भनेका छन् ।सरकारका बेथिति र कमजोर व्यवस्थापनबारे प्रश्न उठिरहने उनको प्रस्टोक्ति छ ।

उनले सरकारका कमजोरीका विषयमा चुपचाप नबस्ने पनि प्रस्ट्याए । जताततै बर्बाद हुँदा चुप लागेर नबस्ने, बरु प्रश्न उठाइरहने उनको प्रस्टोक्ति छ ।

‘आज उसको फोकस, यत्रो डिजास्टर भएको छ, यति धेरै मानिसहरू घरबारविहीन भएका छन्, तिनको पुनस्र्थापना कसरी गर्ने ? सुकुम्बासीहरू घरटहरा छोडेर खुलामा बसेको कति समय भयो, उनीहरूको पुनस्र्थापना कसरी गर्ने ? सबैभन्दा ठूलो कुरा इकोनोमी छ, खोइ जब्स ? खोइ इन्भेस्टमेन्ट ?,’ गगनले स्पष्ट शब्दमा भने, ‘जताततै बर्बाद हुँदै गएको छ, सबै डरले थुरथुर भएको अवस्था छ । यसलाई सम्हाल्ने कसरी हो ? यो सम्हाल्ने कुरामा हाम्रो ध्यानाकर्षण पनि गराएका छौँ, हाम्रो साथ–सहयोग रहन्छ, जहाँ गल्ती गर्छौं, हाम्रो क्वेस्चन रहन्छ भनेर भनेका छौँ ।’प्रजातन्त्र खुम्च्याउने र संस्थालाई कमजोर बनाउने कुराको मूकदर्शक नहुने उनको प्रस्ट सन्देश छ ।

‘डेमोक्र्याटिक राइटलाई खुम्च्याउने कुरा, हाम्रा संस्थाहरूलाई कमजोर बनाउने कुरा हुँदै गर्दा हामी मुकदर्शक भएर बस्दैनौँ, बोल्छौँ । क्वेस्चन गर्छौं, प¥यो भने प्रतिवाद गर्छौं, किनकि त्यो हाम्रो ड्युटी हो । खुला भनिरहेका छौँ । लुकाएर भन्नुपर्ने कुरा केही पनि छैन,’ गगनले भने, ‘हामीले जतिखेर सरकारमाथि क्वेस्चन उठायौँ, ठ्याक्कै त्यही बेलाबाट एउटा म्यानुफ्याक्चर्ड न्यारेटिभ सुरु भएको छ । के यसले हामीलाई क्वेस्चन गर्ने कुरा बन्द हुन्छ ? हुँदैन । ठीक कुरामा साथ दिने कुरा पनि बन्द हुँदैन, गलत कुरालाई प्रश्न गर्ने कुरा र प्रतिवाद गर्ने कुरा पनि बन्द हुँदैन ।’

उनले नैतिक धरातल आफ्नो जग भएको प्रस्ट्याए ।‘मैले सधैँ भन्दै आएको छु, मेरो हातमा दाग छैन, मनमा कुनै कालो छैन । मेरो हात सफा छ, माइ ह्यान्ड्स आर क्लिन । यति नभएको भए लड्ने आँट आउँथ्यो ? म त आज मात्र हो ? योभन्दा पहिला पनि, योभन्दा अझै बलियो सत्ता भएको बेलामा पनि, सत्ताले गलत गरेको बेलामा त्यससँग लड्दै आएको छु, प्रश्न गर्दै आएको छु,’ थापाले भने, ‘आफ्नै पार्टीको सरकार हुँदै गर्दा गलत हुँदै गर्दा बोल्न छोडिनँ । बोल्ने आँट कहाँबाट आउँछ ? म कतै कमजोर भएको भए, मेरो स्वच्छता, इमानदारी, मेरो नैतिकतामा कतै कम्प्रोमाइज्ड भएको भए, त्यो बोल्ने आँट आउँछ ? आउँदैन ।’

प्रत्येकपटक सत्तासँग लड्नु नै आफ्नो नैतिक धरातल बलियो रहेको प्रमाण भएको उनको भनाइ छ ।

‘जब–जब मैले अलि बलियो सत्तासँग प्रश्न गरेको छु, लडेको छु, यस्ता कुनै न कुनै प्रायोजित, म्यानुफ्याक्चर्ड न्यारेटिभ मेरो वरिपरि ल्याइएको छ । कहिले यो भयो, कहिले त्यो भयो । र व्यापक रूपमा मेरो चरित्रमाथि क्वेस्चन गरिएको छ । तर, प्रत्येकपटक लडेर आएँ नि म, प्रत्येकबाट बाँचेर आएँ नि म, ढलिनँ नि म । किन थाहा छ ? तपाईंको शुभेच्छा, आशीर्वाद आफ्नो ठाउँमा छ । तर, सबैभन्दा ठूलो कुरा मेरो मोरल स्ट्रेन्थ हो,’ थापाले भने, ‘यो लडाइँमा म किन बाँचेको छु भने किनकि म सफा छु । म स्वच्छ छु, म ठीक ठाउँमा उभिएको छु । त्यसैले ढुक्क रहनुहोस् । मलाई माया गर्ने सबै साथीहरू ढुक्क रहनुहोस्— तपाईंको भाइ, तपाईंको दाइ, तपाईंको साथी, तपाईंको छोरा, तपाईंको पार्टी सभापति गगन थापा कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन ।’ साभारःशिलापत्र

Related posts

अजय द्विवेदी भन्छन् : उम्मेदवारी दिने नदिने बारे सरसल्लाह गरिरहेको छु

MadhesKhabar

बारा २ मा मंसिरको भन्दा बढि मतदान , गठबन्धनले सत्ताको दुरुपयोग गरेको आरोप

MadhesKhabar

रास्वपा बाराका संस्थापक सभापति स्वर्णकारको पार्टी सदस्यता खारेज

MadhesKhabar

Leave a Comment