जनकपुर/बारा,१४ कात्तिक : बाराको फेटा गाउँपालिकामा शनिबार बिहान भएको झडप भएको छ । त्यसक्रममा अस्पतालमा तोडफोड तथा मोटरसाइकलमा आगजनी समेत भएको छ । झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीले चलाएको गोली लागेर १४ वर्षीय एक बालक गम्भीर घाइते भएका छन् । ढुंगामुढा लागेर अन्य पाँचजना प्रहरी पनि घाइते भएका छन् ।
प्रहरीको गोली लागेर बाराको फेटा गाउपालिका ३ का १५ बर्षीय आदित्य पासवान घाइते भएकोे मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एंव एसएसपी प्रभु प्रसाद ढकालले जानकारी दिए ।
घाइते पासवानको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । एसएसपी ढकालका अनुसार झडप नियन्त्रणमा लिन खोज्दा ढुंगामुढा लागेर ५ जना प्रहरी घाइते भएका छन् ।
कसरी भयो विवाद ?
फेटा गाउँपालिकामा १५ शैयाको नवनिर्मित आधारभूत अस्पताल उद्घाटनको कार्यक्रम रहेको थियो ।फेटा गाउँपालिका राष्ट्रिय स्वतन्त्रत पार्टीको एक मात्र जनप्रतिनिधि भएको पालिका हो । विवेकशील साझाबाट चुनाव लडेका रुस्तम अन्सारीले पालिका अध्यक्षमा रुस्तम जितेका थिए ।गत २१ फागुन २१ को निर्वाचनक बेला उक्त दल रास्वपामा समाहित भयो । शनिबार अस्पताल उद्घाटन गरी पालिकालाई हस्तान्तरण गर्न विगतमा विवेकशील साझा पार्टीकी अध्यक्ष र वर्तमान रास्वपा प्रतिनिधि सभा सदस्य समीक्षा बास्कोटा आएकी थिइन् ।
स्थानीय प्रशासनका अनुसार यो उद्घाटन रोक्न र शिलालेखमा भएको नाम हटाउन निवर्तमान पालिका अध्यक्ष अमिरीलाल साह कानु गुप्ताले चाहेका थिए ।उनी नेकपा एमालेबाट जित्दा अस्पताल निर्माणको थालनी भएको थियो । त्यसकारण उनीसहितका एमाले नेता कार्यकर्ताले उद्घाटन रोक्न पहिले नै चेतावनी दिएको थिए ।
बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार, रास्वपा सांसदले उद्घाटन गर्ने भएपछि स्थानीय एमाले नेताहरूले जिल्ला प्रशासनसमक्ष आफुहरुले कार्यक्रम बिथोल्ने चेतावनी दुई दिन अघिनै दिएका थिए ।
एमालेसहित स्थानीय समेत रहेका शिक्षक लालबाबु साह दुईजनाको नेतृत्व समेत विरोधको नेतृत्व गरेका थिए । साह बाराको जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहा स्थित श्री नेपाल राष्ट्रिय माविका प्रधानाध्यापक समेत छन् । उनी माध्यमिक तह द्वीत्तिय श्रेणीका शिक्षक हुन् । प्रजिअ अधिकारीका अनुसार जिल्ला प्रशासन कार्यालयमा कार्यक्रम बिथोल्ने चेतावनी दिन उनी पनि पुगेका थिए ।
बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले शिक्षण पेशामा आबद्ध व्यक्ति राजनीतिक रुपमा प्रस्तुत भएको विषयमा दुई दिन अघिनै शिक्षा विकास तथा समन्वय ईकाई बारालाई जानकारी गराइएको बताए ।
‘आज फेटामा भएको घटनाको पूर्व जानकारी गराउने शिक्षकका विषयमा दुईदिन अघिनै हामीले शिक्षा कार्यालयलाई जानकारी गराएका छौं,’ सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले भने ।
मधेस प्रदेश प्रहरीका प्रवक्ता एसएसपी ढकालका अनुसार कार्यक्रम स्थलमा निवर्तमान अध्यक्ष गुप्ताको नेतृत्वमा अढाइ सय जित मानिसहरू आएर आक्रमण गरेका थिए । त्यसपछि झडप भएको थियो ।
त्यस क्रममा प्रदर्शनकारीले १० वटा मोटरसाइकलमा आगजनी गरेका छन् ।बाराका प्रजिअ अधिकारीका अनुसार अस्पताल परिसरमा शिलालेख र उद्घाटनका लागि तयार टेण्ट तोडफोड भएपछि प्रहरीले लाठीचार्ज गरि भिड तितरबितर पारेको थियोे । आक्रोशित प्रदर्शनकारीले अस्पताल परिसरमा रहेका १० वटा मोटरसाइकलमा आगजनी गरेका छन् ।
त्यसक्रममा अस्पताल परिसरमा थुनिएका १० जना स्वास्थ्यकर्मी र केहि सुरक्षाकर्मीलाई प्रहरीले उद्धार गरेको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
‘हामी बैठकमै छौं, प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ, हालसम्म कसैलाई पक्राउ गरेका छैनौं,’ बाराका सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले भने ।साभारः अनलाइनखबर

