Madhes Khabar
स्वास्थ्य हेडलाइन

सिमित स्रोतसाधनका बाबजुद जीतपुरसिमरा नगर अस्पतालमा हाडजोर्नीको दर्जनौ सफल शल्यक्रिया

प्रकाश लम्साल
बारा,१२कात्तिकः ‘टिम सानो छ , जोखिम हुन्छ’ भन्दै सहकर्मी चिकित्सकहरूले पटक पटक सुझाउँछन्। तैपनि आफ्नो ज्ञान र सीमित स्रोत साधनको अधिकतम सदुपयोग गर्दै हाडजोर्नी तथा नशा रोग बिषेषज्ञ डाक्टर नवनीत रौनियारले दर्जनौ बिरामीको जटिल शल्यक्रिया नियमित गर्दै आएका छन् ।

जीतपुर सिमरा उपमहानगरपालिकाको आफ्नै आन्तरिक राजस्वबाट सञ्चालित बाराको सिमरास्थित जीतपुरसिमरा नगर अस्पतालमा हाडजोर्नीका जटिल शल्यक्रियाहरू अति सुलभ ढङ्गले हुन थाले पछि नगरवासीले घरआँगनमै ठूलो राहत महसुस गर्न थालेका छन् ।

वीर अस्पताल राष्ट्रिय ट्रमा सेन्टरबाट आएका डा. नवनीतको यो दृढ इच्छाशक्ति र अथक प्रयासका कारण आज सयौँ विपन्न नागरिकहरूले महँगो उपचारको मारबाट मुक्ति पाउन थालेको स्थानीय जिबन खडगा बताउँछन् ।

शुरुवातका दिनमा पर्याप्त जनशक्ति र ठूला अस्पताल जस्तो पूर्वाधारको अभावमा ठूलो जोखिम मोल्नुपर्ने भन्दै चिकित्सकहरूले नै चिन्ता व्यक्त गरेका थिए । तर उपलब्ध सीमित साधन र स्रोतलाई अधिकतम प्रयोग गर्दै डा. नवनीतले हड्डी फुटेका, जोर्नी भाँचिएका तथा कृत्रिम जोर्नी (आर्टिफिसियल जोइन्ट) प्रत्यारोपणजस्ता जटिल शल्यक्रियाहरूलाई निरन्तर सफल बनाउँदै आएका छन् ।

अस्पतालले पछिल्लो चार महिनाको अवधिमा मात्रै यस्ता जटिल समस्या भएका सय बढी बिरामीहरूको सफल शल्यक्रिया गरिसकेको अस्पताल प्रशासनले जनाएको छ ।

निजी अस्पतालहरूमा चारदेखि पाँच लाख रुपैयाँसम्म खर्च हुने जटिल शल्यक्रियाहरू अब जीतपुर सिमरा नगर अस्पतालमा करिब ४० देखि ५० हजार रुपैयाँमै सम्भव भएको छ ।

डा. नवनीत रौनियारका अनुसार अप्रेसनमा प्रयोग हुने स्टिल (इम्प्लान्ट) बापतको २२ देखि २५ हजार रुपैयाँ मात्र शुल्क लाग्ने र अस्पतालले बेड तथा औषधिमा समेत व्यापक छुटको व्यवस्था मिलाएका कारण अति विपन्न बिरामीहरूका लागि यो सेवा वरदान साबित भएको छ । अस्पतालको सुलभ सेवाबाट अति विपन्न तथा मध्यम वर्गका परिवारहरूले प्रत्यक्ष लाभ उठाएका छन् ।

जटिल शल्यक्रिया गराएपछि खुसी व्यक्त गर्दै सिमरा–२ का ७० वर्षीय हरिदेव राम सहनी भन्छन्, “म अति विपन्न परिवारको मान्छे हुँ, तर हाम्रै नगर अस्पतालमा उपचार पाएपछि मैले नयाँ पुनर्जीवन पाएको महसुस गरेको छु थोरै खर्चमै मेरो जटिल कृत्रिम जोर्नी प्रत्यारोपण सफल भयो । म डाक्टर साहब, अस्पताल परिवार र स्थानीय सरकारप्रति कृतज्ञ छु ।” त्यस्तै, गम्भीर चोट लागेर दुबै हात भाचिए पछि उपचारका लागि आएका जितपुर सिमरा वडा नम्बर ८ का १८ वर्षीय अनिल सहनीले पनि आफ्नै नगर अस्पतालबाट सुलभ र गुणस्तरीय सेवा पाएका छन । उनि पनि नगर अस्पतालको सेबा प्रति कृतज्ञता ब्यक्त गर्छन् ।

हाडजोर्नीको शल्यक्रिया मात्र नभई यस अस्पतालबाट बालबालिकाको उपचार, मुटुरोगसम्बन्धी सेवा लगायत अन्य विभिन्न विशेषज्ञ स्वास्थ्य सेवाहरू पनि निरन्तर रूपमा प्रवाह भइरहेका छन्। अस्पताल प्रशासनका अनुसार हाल दैनिक ३०० देखि ४०० जना बिरामीहरूले यस अस्पतालबाट नियमित रूपमा स्वास्थ्य सेवा लिइरहेका छन्।

सीमित साधन र स्रोतका बाबजुद डा. नवनीत जस्ता कर्मठ चिकित्सकहरूको लगनशीलता र स्थानीय सरकारको आफ्नै आन्तरिक राजस्वबाट सञ्चालित यस अस्पतालले जनताको स्वास्थ्य आवश्यकतालाई प्राथमिकतामा राखेपछि समाजमा नगर सरकारप्रतिको विश्वास र खुसी अझ उच्च बनेको छ ।

 

Related posts

पर्साको भलुवहीयाँमा भीषण आगलागी : ५ घरसहित कुखुरा फर्म र १० बिघा गँहु बाली जलेर सखाप

MadhesKhabar

मधेसमा कठ्याङ्ग्रिँदो चिसो, सकेसम्म घरबाहिर ननिस्कन सुझाव

MadhesKhabar

सानो पाइलाका सञ्चालक जीबी राईलाई पक्राउ गर्न माग गर्दै वीरगन्जमा प्रदर्शन

MadhesKhabar

Leave a Comment