वीरगन्ज,२५ भदौं : वीरगन्ज महानगरपालिकाले रासायनिक मल बिक्रीको मूल्यमा बृद्धि गर्ने निर्णयप्रति महानगरकै एक वडाध्यक्षले विरोध जनाएका छन् ।
भदौं १७ मा महानगरपालिकाको स्थानीय तह मल वितरण व्यवस्थापन समितिको बैठकले रासायनिक मल (युरिया, डिएपी र पोटास मल) को बिक्री मूल्यमा प्रति बोरा एक सय रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको छ । कार्यवाहक मेयर इम्तियाज आलमको अध्यक्षतामा बसेको समितिको बैठकले २०७७ सालदेखि यता मूल्य बृद्धि नगरिएको तथा डिलरहरुले मूल्य बृद्धि गर्नुपर्ने माग गरेकाले त्यसैलाई मध्यनजर गर्दै युरिया, डीएपी र पोटास मलमा प्रति बोरा एक सय रुपैयाँ बृद्धि गर्ने निर्णय गरेको हो ।
तर उक्त निर्णयप्रति वीरगन्ज महानगरपालिका वडा नम्बर ३० का वडाध्यक्ष मनोज यादवले विरोध जनाएका हुन् । अहिले किसानहरू उत्पादन लागत, सिँचाइ, बीउ, मजदुरी, विद्युत् तथा अन्य कृषि सामग्रीको बढ्दो मूल्यका कारण मारमा रहेको अवस्थामा मलजस्तो अत्यावश्यक कृषि सामग्रीको मूल्यमा थप वृद्धि गर्दा यसको प्रत्यक्ष भार किसानमाथि पर्ने उनको तर्क छ ।
किसानलाई राहत र प्रोत्साहन दिनुको सट्टा स्थानीय तहले नै मलको मूल्य बढाउनु उचित नभएको भन्दै वडाध्यक्ष यादवले मूल्य बृद्धिको उक्त निर्णयलाई पुनर्विचार गरी किसानमैत्री मूल्य कायम गर्न वीरगन्ज महानगरपालिकासँग आग्रह पनि गरेका छन् ।


