वीरगन्ज,१६भदाैं:रसुवा लगायतका जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहतका लागि पर्साको ठोरी गाउँपालिकाले ११ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
गाउँपालिकाको कार्यपालिकाकाे साेमबार बसेकाे बैठकले उक्त निर्णय गरेको हो ।ठोरी गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिले एक महीनाको तलब तथा भत्ता बराबरको रकम, गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट र गाउँपालिकामा कार्यरत कर्मचारीबाट गरि ११ लाख रुपैयाँ सहयाेग गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले जानकारी दिए।
यसका साथै ठाेरी गाउँपालिकाले तत्काल राहतसँगै आगामी दिनमा आवश्यक पर्ने सहयोगका लागि थप स्रोत परिचालन गर्ने तयारीसमेत गरेको छ । आवश्यकताका आधारमा सङ्घसंस्था, सामाजिक अभियन्ता, सहयोग गर्न इच्छुक व्यक्ति तथा समुदायबाट समेत सहयोग संकलन गरिने गाउँपालिकाले जनाएको छ ।
अध्यक्ष श्रेष्ठले विपद्को पीडा भूगोल र स्थानीय तहको सीमाभन्दा माथिको साझा मानवीय सरोकार भएको बताए । उनले बाढीपीडितको दुःखमा ठोरी गापा र ठोरीवासीको ऐक्यबद्धता रहेको उल्लेख गर्दै उपलब्ध स्रोतसाधनले भ्याएसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

