
काठमाडौं,५ भदौं : काठमाडौंको शंखमुलस्थित भ्याली ब्याइज होस्टलमा एक युवकको हत्या गरेको आरोपमा बाराको कलैयाका दुई युवक पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–१० शंखमुलको उक्त होस्टलमा बस्ने दाङ घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय वसन्त कालाथोकीको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।
उनीमाथि त्यहि होस्टलमा बस्ने बाराको कलैया उपमहानगरपालिका ३ का १८ वर्षीय शेखर यादव र २० वर्षका प्रमित पटेलले धारिलो हतियार प्रहार गरी कुटपिट गरेका थिए्।
घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि मीनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। टाउको र घाँटीमा गम्भीर चोट लागेका उनको उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनामा संलग्नमध्येका शेखर यादवलाई प्रहरीले यसअघि नै नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।
घटनामा संलग्न पटेल भने फरार थिए। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको समन्वयमा मकवानपुरको भैंसेबाट पक्राउ गरिएको हो।पक्राउ परेका पटेललाई काठमाडौं ल्याएर हिरासतमा राखिएको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काले जानकारी दिए।उनले घटनाको थप अनुसन्धान जारी रहेको बताए।

