वीरगन्ज,२भदौं : भारतबाट खरिद गरि वीरगन्जमा ल्याएर चलाउने गरिएका नम्बर प्लेट नभएका ईलेक्ट्रिक स्कुटरहरु नियन्त्रणमा लिने अभियानलाई प्रहरीले निरन्तरता दिएको छ ।
सीमावर्ती भारतीय बजार रक्सौलमा सस्तोमा पाइने तथा सवारी चालक अनुमतिपत्र समेत आवश्यक नपर्ने भएपछि वीरगन्ज र आसपासका स्थानीयले रक्सौलबाट ईलेक्ट्रिक स्कुटर खरिद गरेर वीरगन्जमा प्रयोग गर्दै आएका छन् ।
तर त्यसरी खरिद गरि ल्याइएका ईलेक्ट्रिक स्कुटरको भन्सार राजस्व नतिरिकन वीरगन्जमा छ्याप्छ्याप्ति प्रयोगमा ल्याउन थालिएपछि प्रहरीले नियन्त्रणमा लिने अभियान गत बैशाखदेखि नै थालेको हो ।
यसैक्रममा मंगलबारपनि नेपाल प्रहरी र ट्राफिक प्रहरीले वीरगन्जको विभिन्न स्थानका सडकबाट त्यस्ता १२ थान ईलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिए ।
नियन्त्रणमा लिइएका ती १२ थान ईलेक्ट्रिक स्कुटरको ९ लाख ६० हजार रुपैयाँको मुल्यांकन गरेर आवश्यक कारबाहीका लागि मंगलबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए ।

