काठमाडौँ,१भदाैं: उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरूद्ध जाहेरी दिएकी छन् । सोमबार उनले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी हुन् । उपसभामुख ठाकुरले जाहेरी दिएको ललितपुरका एसएसपी तुल बहादुर कार्कीले पुष्टि गरे । उनले भने, ‘जाहेरी आएको छ, हामी अध्ययन गर्दैछौँ।’
उपसभामुख ठाकुर विरुद्ध जनआस्थामा केही दिनअघि एउटा सामाग्री प्रकाशन भएको थियो । उपसभामुखले उक्त पत्रिकाले आफ्नो चरित्र, प्रतिष्ठा र सामाजिक मर्यादामा आँच पुग्नेगरी अनलाइन सामग्री प्रकाशित गरेको भन्दै ठाकुरले उनलाई कारबाही गर्न माग गरेकी छन् ।
उपसभामुख ठाकुरले श्रेष्ठविरूद्ध विद्युतीय कसुर ऐन २०६३ अनुसारको कसुरमा अनुसन्धान गर्नुपर्ने जाहेरीमा उल्लेख गरेकी छिन् ।
यसअघि बुधबार साँझ पक्राउ परेका किशोरी श्रेष्ठलाई आज सर्वोच्च अदालतले रिहा गर्न आदेश गरेको छ । साउन २५ मा जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित एक सामग्री प्रकाशन भएको थियो । श्रेष्ठले सांसद चाैधरीसँग एक युवतीको तस्बिर सार्वजनिक गरेका थिए । सो प्रकरणमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
श्रेष्ठविरुद्ध दिपिका सिंहले जाहेरी दिएकी थिइन् । उनीविरुद्ध वैयक्तिक गोपनीयता सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको भएपनि बन्दी प्रत्यक्षीकरणको रिटबाट श्रेष्ठ रिहा भएका छन्। साभार:राताेपाटी

