वीरगन्ज, ११ असारः चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा हिन्दु धर्मप्रतिको आस्थामा आँच पुग्ने खालको गतिविधि गरिएको भन्दै हिन्दु धर्म सम्बद्ध संघसंगठनहरुले आपत्ति जनाउँदै पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझुाएका छन् ।
राष्ट्रिय बजरंग दल पर्सा र नेपाल विश्व हिन्दु महासंघ पर्साले बिहीबार संयुक्त रूपमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापन–पत्र बुझाएका हुन्।राष्ट्रिय बजरंग दल पर्साका विवेक सिन्हा र नेपाल विश्व हिन्दु महासंघ पर्साका अध्यक्ष श्रीनन्दन भारद्वाजले बिहीबार पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।उक्त ज्ञापनपत्रको एक एक प्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत बोधार्थ पठाइएको छ ।
भरतपुरमा जारी रास्वपाको महाधिवेशनस्थलमा वीरगन्जबाट सहभागी भएका वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीका महबुब आलमसहितका केहि व्याक्तिहरुले हिन्दुको कावँर बोकेर त्यसमा भगवान् श्रीराम र लक्ष्मणसंगै रवि लामिछाने र बालेन शाहको फोटो पनि झुण्डयाएर प्रदर्शन गरेका थिए । त्यसक्रममा आलमसहितका व्याक्तिहरुले रवि लामिछाने र बालेन शाहको तुलाना भगवान् श्रीराम र लक्ष्मण गर्दै सार्वजनिक अभिव्यक्ति पनि दिएका थिए ।
रास्वपाको महाधिवेशनमा वीरगन्जबाट सहभागी आलमले सस्तो चर्चा कमाउने र राजनीतिक स्टन्टबाजी गर्ने नियतले रवि लामिछाने र बालेन शाहको तुलना भगवान् श्रीराम र लक्ष्मणसंग गर्दै अराजनीतिक र अमर्यादित अभिव्यक्ति दिएको भन्दै हिन्दुवादी दुवै संगठनले आलमको उक्त गतिविधि र अभिव्यक्तिको घोर भत्सर्ना गर्दै निन्दा समेत गरेका छन्।
कुनै पनि राजनीतिक व्यक्तिको देवत्वकरण वा महिमामण्डन गर्नका लागि करोडौँ हिन्दुहरूको आस्थाका प्रतीक भगवान श्री रामको नामलाई विवादमा तान्नु निन्दनीय र घृणित कार्य भएको बजरंग दल र विश्व हिन्दु महासंघले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
ती दुवै संगठनले धार्मिक आस्थाको सम्मानः राजनीतिक प्रचार वा व्यक्तिगत स्वार्थका लागि आराध्य देवहरूको नाम दुरुपयोग गर्ने कार्य तत्काल बन्द गर्न , हिन्दुहरूको धार्मिक भावनामा आँच आउने गरी गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिने आलमसहितका ती व्याक्तिहरुले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गरेका छन् ।
यसका साथै आगामी दिनमा हिन्दुका देवी–देवता र सनातन धर्मलाई बदनाम गर्ने वा हल्का रूपमा प्रस्तुत गर्ने यस्ता हर्कतहरू दोहोरिएमा कडा विरोधमा उत्रने र कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन बाध्य हुने चेतावनी पनि ती संगठनले दिएका छन् ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दाहालले यस विषयलाई गम्भीरतापूर्वक लिएको बताए । उनले धार्मिक सहिष्णुता तथा सामाजिक सद्भावमा खलल पुग्ने खालका गतिविधिहरु कानुन बमोजिम सम्बोधन गरिने बताए ।

