वीरगन्ज,३० वैशाख : वीरगन्जमा रहेका खसीका मासु पसलहरुमा बजार अनुगगमन गरि त्रुटी र लापरवाही फेला परेका पसलेहरुलाई कारबाही गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाईमा पशु सेवा शाखा, खाद्य तथा गुण नियन्त्रण शाखा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्सा, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्ज, पशु क्वारेन्टाइन कार्यालय वीरगन्ज् तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रतिनिधि सम्मिलित टोलीले बुधबार खसीका मासु पसलहरुमा अनुगमन गरेको हो ।
बाख्राको मासुलाई खसी÷बोकाको मासु भनी भ्रामक रूपमा बिक्री वितरण भइरहेको जनगुनासोका आधारमा बजार अनुगनमन टोलीले मुर्ली, राधेमाई, श्रीराम हल छपकैया तथा रेलवे रोड क्षेत्रका मासु पसलहरूमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा मुर्लीस्थित दिलसाद फ्रेस हाउसबाट अखाद्य वस्तु मिसावट गरिएको करिब १२ केजी २०० ग्राम मासु जफत गरिएको छ । त्यस्तै, राधेमाईस्थित इरफान मासु पसल दर्ता तथा स्वीकृतिविना सञ्चालन गरिएको र मासु मिसावट गरी बिक्री वितरण गरेको पाइएकाले २० हजार रुपैयाँ जरीबाना पनि गरिएको छ ।
जफत गरिएको मासु डम्पिङ साइटमा सुरक्षित रूपमा नष्ट गरिएको तथा लापरवाही भेटिएका मासु पसलका सञ्चालकहरुलाई मूल्य सूची अनिवार्य रूपमा राख्न, मासुको स्पष्ट पहिचान खुल्ने गरी मात्र बिक्री वितरण गर्न तथा सरसफाइमा कुनै पनि किसिमको सम्झौता नगर्न कडा निर्देशनपनि दिइएको अनुगमन टोलीले जनाएको छ ।

