काठमाडौं,२४वैशाख:राष्ट्रपति रामचन्द्र पाैडेलले वीरगन्जका वरिष्ठ पत्रकार चन्द्रकिशाेर झासहित ५ जना पत्रकारलाई सम्मानित गरेका छन्।
सूचना तथा संचार प्रविधि मन्त्रालयद्वारा आयोजित कार्यक्रममा राष्ट्रपति पाैडेलले झासहित ५ जना पत्रकारलाई सम्मानित गरेका हुन्।कार्यक्रममा राष्ट्रपति पौडेलले वरिष्ठ पत्रकार सम्मानबाट वीरगन्जका झा र नम्रता शर्मालाई, राष्ट्रिय पत्रकारिता पुरस्कारबाट भोला पासवान, उमेश श्रेष्ठ र रुपा गहतराजलाई सम्मानित गरे । सम्मानित पाँचैजना पत्रकारलाई जनही दुई–दुई लाख नगद तथा सम्मानपत्र प्रदान गरिएको थियाे।
कार्यक्रममा राष्ट्रपति पौडेलले जिम्मेवार प्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो बनाउँदै सुशासन, विकास, प्रगति र आर्थिक समृद्धिको युगानुकूल चाहनालाई पूरा गर्ने अभियानमा नेपाली प्रेसले अझै प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गरे ।
राष्ट्रपति पौडेलले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक लगायतका हरेक परिवर्तनहरूमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहँदै आएको स्मरण गरे ।उनले हाम्रो संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको बताउँदै संविधानको यो मर्म र भावनाअनुसार पत्रकारलाई निर्भय र स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको बताए ।
त्यसैगरी, सत्यतथ्य समाचार सम्प्रेषण गरेर जनतालाई सुसूचित गर्नु जिम्मेवार प्रेसको धर्म भएको उल्लेख गर्दै उनले यसतर्फ नेपाली प्रेस सदैव सजग र चनाखो हुने विश्वास व्यक्त गरे ।
राष्ट्रपति पौडेलले पत्रकारिता परिवर्तनको वाहक र राष्ट्र निर्माणको एउटा सशक्त तथा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त भएको स्पष्ट पारे । उनले स्वतन्त्र र निष्पक्ष पत्रकारिताविना लोकतन्त्रको कल्पना गर्न नसकिने बताए ।
राष्ट्रपति पौडेलले समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने भन्दै सुरक्षित र जोखिममुक्त वातावरणमा समाचार सङ्कलन र सम्प्रेषण गर्ने अवस्थाको सुनिश्चितातर्फ सबैको ध्यान जान आवश्यक रहेको बताए ।
उनले श्रमजीवी पत्रकारहरूको हकहित र सञ्चार गृहहरूको आर्थिक दिगोपनका लागि सरकार र निजी क्षेत्र दुवैले समन्वय गर्न जरुरी रहेकोमा जोड दिए । सूचना प्रविधिको विकाससँगै बढ्दो सामाजिक सञ्जाल र नागरिक पत्रकारिताको प्रयोगले आधारहीन र मिथ्या सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराको सामना गर्नु वर्तमान आमसञ्चार माध्यमसामु थपिएको चुनौति रहेको भन्दै उनले यो चुनौतिको सामना गर्न नेपाली प्रेस सक्षम हुनेमा आफू विश्वस्त रहेको बताए ।

