Madhes Khabar
समाचार हेडलाइन

लिपुलेक विवादमा भारतको कडा प्रतिक्रिया : नेपालको दाबी ‘ऐतिहासिक तथ्यविहीन’ भन्दै पुरानै अडान दोहोर्‍यायो

लिपुलेक नाका हुँदै कैलाश मानसरोवर यात्रा पुनः सञ्चालन गर्ने चीन र भारतको निर्णयप्रति नेपालले आपत्ति जनाएपछि भारतले औपचारिक प्रतिक्रिया दिएको छ। भारतले लिपुलेक मार्ग दशकौँदेखि प्रयोग हुँदै आएको दाबी गर्दै नेपालको सीमा सम्बन्धी दाबीलाई “ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको” टिप्पणी गरेको हो।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले जारी गरेको वक्तव्यमा लिपुलेक नाका सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको उल्लेख गरिएको छ। भारतले यसलाई नयाँ घटनाक्रम नभई निरन्तर चलिरहेको परम्परागत प्रक्रिया भएको जनाएको छ।

नेपाल सरकारले आइतबार प्रेस नोट जारी गर्दै सीमा क्षेत्रमा भएका गतिविधिप्रति ध्यानाकर्षण भएको जनाएको थियो। त्यसको प्रत्युत्तरमा भारतले सीमासम्बन्धी विषयमा आफ्नो अडान स्पष्ट र स्थिर रहेको दोहोर्‍याएको हो।

भारतीय पक्षले “एकपक्षीय रूपमा क्षेत्रीय दाबी विस्तार गर्नु स्वीकार्य नहुने” उल्लेख गर्दै सीमा विवादका विषय ऐतिहासिक तथ्यका आधारमा मात्रै समाधान हुनुपर्ने संकेत गरेको छ।

यद्यपि, भारतले नेपालसँगको द्विपक्षीय सम्बन्धलाई महत्व दिने बताउँदै सबै विषयमा रचनात्मक संवादका लागि आफू तयार रहेको जनाएको छ। बाँकी रहेका सीमासम्बन्धी विवादहरू कूटनीतिक माध्यमबाट समाधान गर्न सकिने विश्वाससमेत भारतले व्यक्त गरेको छ।

Related posts

सानो पाइलाका सञ्चालक जीबी राईलाई पक्राउ गर्न माग गर्दै वीरगन्जमा प्रदर्शन

MadhesKhabar

बाराका शिक्षा कार्यालय प्रमुख खतिवडालाई जनकारबाही गर्ने आजपाको धम्की

MadhesKhabar

देशभरका यातायात कार्यालयहरुमा सवारी चालक लाइसेन्ससँग सम्बन्धित सबै सेवाहरू बन्द

MadhesKhabar

Leave a Comment