Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

वीरगन्ज महानगरले ९ महिनामा उठायो ४३ करोड ७४ लाख राजस्व

वीरगन्ज, ८ वैशाखः वीरगन्ज महानगरपालिकाको कार्यालयले चालू आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा ४३ करोड ७४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत साउनदेखि गत चैतसम्म ९ महिनाको अवधिमा विभिन्न शीर्षकमा गरी कूल ४३ करोड ७४ लाख ३६ हजार ५४५ रुपैयाँ राजस्व संकलन भएको वीरगन्ज महानगरपालिकाको राजस्व महाशाखाका प्रमुख मनोज कर्णले जानकारी दिए ।

जबकि गत आर्थिक वर्ष २०८१/८२ को सोही ९ महिनाको अवधिमा वीरगन्ज महानगरपालिकाले ३७ करोड ३३ लाख २९ हजार ३७६ रुपैयाँ राजस्व संकलन गरेको थियो । वीरगन्ज महानगरपालिकाले गतआर्थिक वर्षको साउनदेखि चैतसम्म ९ महिनाको अवधिको भन्दा चालू आर्थिक वर्षको सोही अवधिमा ६ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको कर्णले जानकारी दिए ।

यद्यपि महानगरपालिकाको ९ महिनाको राजस्व संकलन अपेक्षा गरेको भन्दा कम नै रहेको छ । किन कि चालु आर्थिक वर्षभरिका लागि महानगरपालिकाले १ अर्ब ९० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, ९ महिनाको अवधिमा लक्ष्यको २५ प्रतिशत भन्दा कम नै राजस्व उठेको कर्णले बताए । जसका कारण राजस्व संकलनको वार्षिक लक्ष्य हासिल गर्नु चुनौतीपूर्ण बन्दै गएको उनले बताए।

वीरगन्ज महानगरपालिकाले गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ६० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा ६५ करोड रुपैयाँ मात्र संकलन गरेको थियो।

Related posts

पर्सा मालपोत कार्यालयका तत्कालिन प्रमुख पोखरेलसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

MadhesKhabar

मधेस प्रदेशमा सबैभन्दा बढी एचआईभी एड्सका संक्रमित पर्सा जिल्लामा

MadhesKhabar

वीरगन्जका बिर्यानी हाउसहरुले सडेको मासुबाट बिर्यानी बनाएर बेच्ने गरेको भेटियो

MadhesKhabar

Leave a Comment