काठमाडौं,३वैशाख:सर्वोच्च अदालतले पूर्वऊर्जामन्त्री दीपक खड्कालाई रिहा गर्न आदेश दिएको छ।
खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा बिहीबार कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले रिहाको आदेश गरेको हो ।
विदेश जान भने उनले सम्बन्धित अदालतबाट अनुमति लिनुपर्ने आदेशमा उल्लेख छ ।
‘निवेदकलाई हिरासतमा राख्दा उचित विधि र प्रक्रिया पूरा गरेको देखिएन,’ आदेशमा भनिएको छ, ‘निजको पक्राउ पुर्जी र म्याद थप कानुनसंगत देखिँदैन । निज माथिको दाबीको कसूरको अनुसन्धान हिरासत बाहिर बसेर नै हुन सक्ने प्रकृतिको देखिँदा सम्बन्धित अदालतबाट अनुमति लिई मात्र निवेदकलाई विदेश जान दिनु र निजलाई तत्काल थुनामुक्त गर्नु भनी बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ ।’
आदेशको पूर्णपाठ तयार गर्न समय लाग्ने भएकोले संक्षिप्त आदेश जारी गरिदिएको पनि सर्वोच्चले आदेशमा उल्लेख गरेको छ ।
खड्का गत चैत १५ गते पक्राउ परेका थिए । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले पक्राउ गरेको थियो ।

