Madhes Khabar
समाज हेडलाइन

वीरगन्जमा बालबालिका र महिला हिंसा तथा बेचबिखनका घटना बढ्दो

वीरगन्ज,२३चैत: सीमावर्ती क्षेत्रमा बालबालिका तथा महिलामाथि हुने हिंसा र बेचबिखनका घटना बढ्दै गएको सरोकारवालाले बताएका छन्। १२ देखि १४ वर्ष उमेर समूहका बालबालिका भारतीय पुरुषहरूसँग प्रेम सम्बन्धमा परेर जोखिमपूर्ण रूपमा भारत जाने–आउने क्रम बढेको पाइएको सरोकारवालाले बताएका हुन् ।

सोमबार वीरगन्जमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको सहयोगमा आफन्त नेपाल पर्सा शाखाद्वारा आयोजित पालिकास्तरीय समन्वय तथा सहकार्य बैठकमा शाखा प्रमुख मनु रानाले संस्थाको कार्य प्रगति प्रस्तुत गर्दै विद्यमान चुनौतीबारे प्रकाश पारिन् ।

त्यसैगरी, विभिन्न दुर्गम जिल्लाबाट ल्याइएका किशोरी तथा महिलालाई स्पा केन्द्रमा परिचालन गरिनुका साथै भारतीय बालिकाहरूलाई वीरगन्जका होटल तथा लजहरूमा जबरजस्ती यौन धन्दामा लगाउने गरिएको तथ्य सार्वजनिक गरिएको छ। नेपाली बालिकाहरू भारतको रक्सौल क्षेत्रमा गई यौन व्यवसायमा संलग्न हुनेको संख्या पनि बढ्दै गएको र भारतीय बालिका तथा किशोरीहरू पनि वीरगन्जमा आएर यौन व्यवसायमा संलग्न हुने गरेको सरोकारवालाले बताएका छन् ।

रानाका अनुसार शाखाले सन् २०२५ मा वीरगन्जस्थित सीमा नाकाबाट २ सय ४५ चेलीबेटीको उद्धार तथा बचाउ गरेको छ । सन् २०२६ को हालसम्ममा ७३ को उद्धार र बचाउ गरिसकेको छ ।

यी समस्यालाई न्यूनीकरण गर्न आफन्त नेपाल, पर्साले सुरक्षित आवास, मनोसामाजिक परामर्श, कानुनी सहायता, स्वास्थ्य उपचार सेवा, शिक्षा प्रेषण, सीप विकास तालिम तथा सशक्तिकरण कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। गोष्ठीका सहभागी सरोकारवालाहरूले समुदाय स्तरमै विभिन्न प्रकारका हिंसाका घटना बढ्दै जानु गम्भीर चुनौती बनेको बताए ।

कार्यक्रममा वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले यस्ता समस्याको समाधानका लागि सबै निकायबीच समन्वय आवश्यक रहेको बताए। कार्यक्रमको अध्यक्षता गरिरहेका आफन्त नेपालका प्रोजेक्ट म्यानेजर केशर विश्वकर्माले बदलिँदो समयक्रमसँगै महिला बेचबिखनका प्रवृत्ति पनि फेरिँदै गएकाले सरोकारवाला निकायहरू थप गम्भीर भएर यो समस्या न्युनीकरणका लागि सहकार्य गर्नु पर्नेमा जोड दिएका थिए ।शंकर आचार्य/कान्तिपुर

Related posts

पर्साका एसपी ढुंगेलकाे सरुवा,अब पर्सामा एसपी मिश्र आउँदै

MadhesKhabar

पर्साको भाथाधामका लागि आएको ५० लाख रकम काम नै सुरु नहुदाँ फ्रिज हुने सम्भावना

MadhesKhabar

नारायणी अस्पतालमा ४५० बढी व्याक्तिलाई खुवाइयो निःशुल्क भोजन

MadhesKhabar

Leave a Comment