बारा,२१चैत: सर्लाही जिल्ला क्रिकेट संघले तेस्रो जितपुरसिमरा क्रिकेट कप प्रतियोगितामा विजयी सुरुवात गरेको छ। पर्सा जिल्ला क्रिकेट संघलाई १७ रनले पराजित गर्दै सर्लाहीले विजयी सुरुवात गरेको हो।
बाराको जितपुरसिमरा-४ औराहस्थित सेज क्रिकेट मैदानमा शनिबार भएको खेलमा १४६ रनको लक्ष्य पछाएको पर्सालाई १२८ रनमै समेट्दै सर्लाहीले जित हात पारेको हो। पर्सालाई रोक्ने क्रममा सर्लाहीका बलर जितेश मण्डल र अभय यादवले समान तीन/तीन विकेट लिए। यसैगरी राहुल महतोले दुई, चक्रधार यादव र अलि हसनले समान एक/एक विकेट लिए।
पर्साका वशिम मन्सुरीले २३, अकिब अंसारीले १८, आदर्श भण्डारीले १६, चन्दन राम र हासिम अंसारीले समान १४ रन बनाए। यसअघि टस जितेर ब्याटिङ रोजेको सर्लाहीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४५ रन जोडेको थियो। सर्लाहीका जितेश मण्डलले ४६ रन बनाएका थिए भने परिमार्जन यादवले ४१ रन जोडेका थिए। यसैगरी हेमन्त सिंहले १७ रन जोड्दा सर्लाहीका अन्य ब्याटरले खासै प्रदर्शन गर्न सकेनन्।
पर्साका वसिम मन्सुरी र नितेश पटेलले समान दुई/दुई विकेट लिँदा आदर्श भण्डारी र चन्दन रामले एक/एक विकेट हात पारे। सर्लाहीका जितेश मण्डल प्लेयर अफ दि म्याच घोषित भए। मण्डललाई मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले पुरस्कृत गरेका थिए। जितेशलाई जनकपुर बोल्ट्सका तर्फबाट विष्णु लामिछानेले क्लबको जर्सी प्रदान गरे।
जितपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजित प्रतियोगिता अन्तर्गत आइतबार बारा जिल्ला क्रिकेट संघ र सर्लाहीबीच खेल हुनेछ। चैत २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक जितपुरसिमरा क्रिकेट क्लबसहित बारा, पर्सा, सर्लाही, मकवानपुर र चितवनको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गर्नेछ ।साभार:अन्नपूर्णपाेष्ट

